सबै श्रेणीहरू

मिडियाको आवरणमा पत्रकारले मीटरब्याज चलाएको आरोप

मिडियाको आवरणमा पत्रकारले मीटरब्याज चलाएको आरोप

महोत्तरीमा मिडिया व्यवसायीले नै मीटरब्याजी बनेर सर्वसाधारणलाई ठगेको तथ्य बाहिरिएको छ । पत्रकारिताको आडमा चर्को ब्याज असुलेर ठगी धन्दा गरेको भन्दै उनीहरूका छिमेकी एकाएक सार्वजनिक भएपछि घटना सतहमा आएको हो ।

बर्दिबासमा प्रभात सन्देश नामक पत्रिका सञ्चलन गर्दै आएका आशा तोलाङ्गे र मनोज थापाविरुद्ध पीडितहरूले आज जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । बर्दिबास–३ स्थायी घर भएका दुवै जना नाताले श्रीमान्, श्रीमती हुन् । उनीहरूका छिमेकी र आफन्तले आफूहरू पीडित भएको उल्लेख गर्दै प्रशासन कार्यालयमा आज निवेदन दिएको सिडिओ कार्यालय महोत्तरीले जनाएको छ । 

पीडितमध्ये रामकुमार परियारले ४ लाख ९५ हजार साँवा ऋण लिएर ७ लाख ९५ हजार बुझाउँदा पनि जालसाजी गरेर उनीहरुले आफ्नो घर नै हडपेको निवेदनमा उल्लेख गरेका छन् । उनीहरूकै कारणले आफू सडकमा आइपुगेको र बत्ती, पानी आफ्नो नाममा ल्याएर घरबाट निकाल्ने धम्की दिँदै आएको पीडित परियारले बताएका छन् ।

त्यसैगरी अर्का पीडित अनिता तोलाङ्गेले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएकी छन् । घरायसी खर्चको निम्ति मिडिया व्यवसायी तोलाङ्गेसगँ २ लाख ५० हजार ऋण लिएको र उक्त ऋण ५० प्रतिशतभन्दा बढी चर्को ब्याज तिरेर साँवासमेत चुक्ता गर्दा पनि घरमै आएर धम्की दिने गरेको उनको आरोप छ ।

परियार र तोलाङ्गे जस्तै अन्य दुई जनाले पनि मिडिया व्यवसायी तोलाङ्गेविरुद्ध न्याय माग गर्दै निवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । निवेदनमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाइसकिएको उनले बताए । मीटरव्याजी भनिएका तोलाङ्गे नेपाल पत्रकार महासंघ महोत्तरीको शाखाका सदस्यसमेत हुन् ।