पाकिस्तानको हिमाल आरोहण गर्न गएको टोली काठमाडौं फर्केको छ । आठ जना नेपाली, एक जना अमेरिकी र एक जना नर्वेका आरोही संलग्न टोली दोहा हुँदै काठमाडौं आइपुगेको हो ।
बिहान ९ बजे कतार एअरवेजको उडानमा यता आइपुगेको टोलीलाई विमानस्थलमा ब्याण्ड बाजासहित भव्य स्वागत गरिएको छ । नेपालको सेभेन समिट ट्रेक्स प्रा.लि.को संयोजनमा भएको पाकिस्तान एक्सपिडिसन २०२३ मा आवद्ध टोलीले सफल आरोहण गरेको हो ।
टोलीमा नेपालका निमारिञ्जी शेर्पा, मिङतेम्ब शेर्पा, पासाङ नोर्बु शेर्पा, मुकुल लाक्पा शेर्पा, निमा डोर्ची शेर्पा, छुम्बे शेर्पा र छाङ दावा शेर्पा सहभागी छन् । अमेरिकी आरोहीमा आङ दावा शेर्पा र नर्वेका क्रिस्टिन हरिला पनि उक्त एक्सपिडिसनमा सहभागी भएका हुन् ।
उनीहरुलाई स्वागत गर्न पर्यटन राज्यमन्त्री सुशिला श्रीपाली, नर्वेका राजदूत तोरुन द्राम्दाललगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । त्यसपछि उनीहरु ब्याण्ड बाजाको स्वागतसहित त्यहाँबाट बाहिरिएका हुन् ।