१ महिलाको हत्यामा २ महिलाको हात

१ महिलाको हत्यामा २ महिलाको हात

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ निवासी ५२ बर्षिया हस्तकली बुढाथोकीको हत्या आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । 

प्रहरीले बुढाथोकीको हत्या आरोपमा मुसिकोट नगरपालिका १ की २३ बर्षिया सिर्जना बुढा बोहरा र मुसिकोट नगरपालिका ५ टटेला निवासी ३० वर्षिया शोभाकुमारी सुनार सोनीलाई पक्राउ गरेको हो । 

आज सोमबार बेलुकाकोपत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले सिर्जना बुढा बोहरा हत्यामा प्रत्यक्ष संलग्न भएको र शोभाकुमारी सुनारलाई प्रमाण लुकाउन संलग्न भएको आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो । 

बोहराले मृतक बुढाथोकीसँग हिमचिम बढाएर गहना र पैसा लुट्ने मनशायले ढुंगाले कन्चटमा हानी हत्या गरेको प्रहरीले जनाएको छ । बुढाथोकीको हत्या गरेर बोहराले एक थान मोबाईल,पोते,सुनको एक थान सिक्री, सुनकाे एक थान तिलहरी, सुनका कानबाली एक जाेडा र सुनकाे चन्द्रमा लुटेको प्रमाण प्रहरीले फेला पारेको छ । त्यस्तै घटनास्थलबाट रगतजस्ताे देखिने राताे पदार्थ लागेकाे लाम्चाे, चेप्टाे ढुंगा लाेहराे पनि बरामद भएकाे छ । 

लुटिएका सुनका गहना खलंगा बजारमा सुनचाँदी व्यवसाय गर्ने सोनीले बिना बिल,बजार मूल्य भन्दा पचास हजार कम मूल्यमा खरिद गरेर गालेको अवस्थामा फेला पारिएको प्रहरीको भनाई रहेको छ । साेनीले एक लाख ८४ हजारमा बाेहराबाट सुन किनेकाे बुझिएको छ ।

आरोपी दुबै जनालाई प्रहरीले कर्तव्य ज्यान एवम् डाँका तथा आपराधिक उपद्रो शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ । दुबै जना प्रतिवादीलाई रुकुम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

जिल्लाको मुसीकोट नगरपालिका –१ सल्लेमा रहेको आफ्नै घरभित्र बुढाथोकी मृत अवस्थामा भेटिनुभएको थियो । शुक्रबार राती नेपालगञ्जबाट आएकी मृतककी भदैनीले घरमा ताला लगाएको र मोबाईल समेत बन्द भएको बताएपछि स्थानीय र प्रहरीले घरको ताला खोलेका थिए । त्यसबेला उहाँ कोठामा मृत अवस्थामा भेटिनुभएको थियो । 

बाहिर ताला लगाएको अवस्थामा आफ्नै घरमा मृत अवस्थामा भेटिएकोले घटना शंकास्पद रहेको भन्दै प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालयबाट बिशेष प्रहरी टोली र कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँकेबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेको थियो ।

टिप्पणीहरू