मदिरा सेवनपछि मातेका सिपाही सडकमै कुटिए
कञ्चनपुरमा एकजना घुमुवा प्रहरी कुटिएका छन् । हिजो जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ टाउके बजारमा आरआईटीमा कार्यरत प्रहरी जवान रञ्जित साउँदलाई स्थानीय युवाले कुटेको बताइएको छ ।
स्रोतका अनुसार सुदूरपश्चिमका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भरतबहादुुर बोहराले गठन गरेको आरआईटी समूहका सिपाही साउँदले पुनर्वासका स्थानीय युवाबाट पिटाइ खाएका हुन् । मोटरसाइकल चेकजाँच गर्ने नाममा उनले अनावश्यक दुःख दिएको स्थानीय युवाहरुको आरोप छ ।
साउँदले मदिरा सेवन गरेर आफू डीआईजी भरत बोहराको मान्छे भन्दै सादा पोशाकमा मोटरसाइकल चेकजाँच गर्दै लाइसेन्स र ब्लुबुक मागेर हैरान गर्न थालेपछि हातपात भएको बताइएको छ । उनी डीआईजी बोहराका नातेदारसमेत पर्ने बुझिएको छ ।
प्रहरीको सुदूरपश्चिम प्रमुख भएर आएपछि नातावाद र क्षेत्रियता लाधेको आरोप खेपिरहेका डीआईजी बोहराले साउँदलाई बैतडीबाट ल्याएर आरआइटीमा राखेका थिए । शुरुमा आवश्यकता र औचित्य नरहेको भन्दै आरआईटी भंग गरेका उनले लगत्तै आफ्ना नातेदार पर्ने प्रहरी वरिष्ठ नायब निरीक्षक डेनी स्वाँरको नेतृत्वमा आरआईटी ब्युँताएका थिए ।
साउँदले कुटिएको घटना भने लुकाइएको छ । प्रदेश प्रहरीका प्रवक्ता प्रज्वल मर्हजनले घटनाको विषयमा जानकारी नभएको प्रतिकृया दिए । कञ्चनपुर प्रहरीले समेत घटनाको विषयमा कुनै जानकारी नभएको बताएको छ ।
टिप्पणीहरू