मार्ने उद्देश्यले युवती छोरीलाई बाबुले विष पिलाए
आषिका लम्साल
सुनसरीमा एक जना बाबुले युवती छोरीलाई मार्ने उद्देश्यले विष खुवाएका छन् । विष खुवाएको खबर प्राप्त भएपछि प्रहरीले बुबालाई नियन्त्रणमा लिएको छ । छोरीको कोशी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
२० वर्षीया छोरीलाई साथीको घरमा गएकाले आफ्नो इज्जत भएको आरोप लगाउँदै ५० वर्षे बाबु अर्जुन कामतले अस्ति साँझ जबर्जस्ती विष पिलाएका थिए । सुनसरीको बर्जू गाउँपालिका २ का अर्जुनले विहे गर्ने उमेरकी छोरी अर्काको घरमा गएर बसेकाले विष खुवाएको बताएका छन् । उनले भने, ‘छोरी अरुको घरमा गएर बस्दा मेरो इज्जत गयो ।’
मंगलबार मादक पदार्थ सेवन गरेर घर आएका अर्जुनले छोरीलाई कुटपिट गरेपछि बालिनालीमा प्रयोग गरिने विष खुवाएका थिए । उक्त घटना छिमेकीहरुले थाहा पाएपछि छोरी राधिकालाई अस्ति राति नै विराटनगरस्थित कोशी अस्पतालमा उपचारार्थ पुर्याएका थिए । अहिले उनको अवस्था खतरामुक्त भएको बताइन्छ । प्रहरीले निर्दयी अर्जुनलाई अस्ति राति नै हिरासतमा लिएर अनुसन्धानको निम्ति अदालतबाट म्याद थप गराइसकेको छ । सुनसरी जिल्ला प्रहरीका अनुसार बाबु अर्जुन सँधै रक्सी खाएर घरमा आएपछि श्रीमती र छोराछोरीलाई कुटपिट गर्ने गरेको छिमेकीले बताएका छन् ।
टिप्पणीहरू