ब्लु र ब्लु बस

ब्लु र ब्लु बस

रास्वपा यातायात सेवाले चितवनमा नयाँ बस चलाएको छ । नाम हो– ब्लु बस । केही सामाजिक सञ्जालवालाहरूले जानकारी दिएअनुसार ठीक यस्तै ब्लु बस अमेरिकामा पनि चल्दोरहेछ । अमेरिकाको ब्लु बस अंग्रेजीमा लेखिएको छ । नेपालको ब्लु बस नेपालीमा लेखिएको छ । यो कतै अमेरिकी ब्लु बसकै नेपाली संस्करण त होइन ? 

त्यसो त अमेरिकामा ब्लु बस मात्रै चल्दैन, अमेरिकन फ्रिडम पार्टी पनि चल्छ । जसको नेपाली नाम हुन्छ ‘अमेरिकन स्वतन्त्र पार्टी’ । नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी, अमेरिकामा अमेरिकन स्वतन्त्र पार्टी । दुवै पार्टीको चुनाव चिन्ह घण्टी । 

तर हामीलाई लाग्दैन कि बसका सञ्चालक श्री रवि लामिछानेले अमेरिकी मोहका कारण ब्लु बस चलाउनुभएको हो । अमेरिकाप्रति उहाँको त कुनै मोह नै छैन । त्यही मोह नभएर त उहाँ उता छोडेर आउनुभयो । मोह कुनै बेला थियो होला, अब छैन । किनभने उहाँको मोह त बदलिरहने गर्छ । कहिले कसप्रति मोह, कहिले कसप्रति । उहाँको मोह एक देशबाट अर्को देशमा, एक पासपोर्टबाट अर्को पासपोर्टमा, एक व्यक्तिबाट अर्को व्यक्तिमा निरन्तर बदलिरहेको हुन्छ । 

त्यसैले यति त दावाकासाथ भन्न सकिन्छ कि उहाँले अमेरिकी मोहका कारण ‘ब्लु बस’ चलाउनुभएको होइन । बरु स्वयम् ‘ब्लु’ प्रतिकै मोहका कारण ‘ब्लु बस’ चलाउनुभएको हुनुपर्छ । ‘ब्लु’ प्रति उहाँको कति मोह छ, त्यो सबैलाई थाहा भएकै कुरा हो । यहाँ त्यसको धेरै खुलासा नगरौँ । यो आलेखलाई अश्लील साहित्य बनाउने हाम्रो ध्येय छैन । 

अतः हामी ‘ब्लु’ छोडेर ‘ब्लु बस’ तिरै जाऊँ । हामी सबै जानकार नै छौँ, यी ब्लु बसका सञ्चालक रवि लामिछाने कुनै बेला यो देशका गृहमन्त्री हुनुहुन्थ्यो । उहाँले केही समय देशको गृह मन्त्रालय चलाउनुभएको थियो । तर धेरै समय चलाउन पाउनुभएन । त्यस्तै केही आइदियो । अब गृह चलाउन नपाइने भएपछि उहाँ बस चलाउनेतिर लाग्नुभएको छ । उहाँको चाहना त गृह चलाउने थियो । तर के गर्ने ! पाइएन । अब गृह चलाउन नपाइने भएपछि बसै भए पनि चलाऊँ । शायद उहाँ गृह चलाउन नपाएको तुस अहिले बस चलाएर पूरा गर्दै हुनुहुन्छ । आखिर उहाँ एक चलायमान मान्छे जो हुनुहुन्छ । केही न केही चलाइ नै रहनु पर्छ । नचलाइकन उहाँ बस्नै सक्नुहुन्न । गृह चलाउन नपाएपछि अरु भए पनि केही त चलाउनैप¥यो । त्यसैले बस चलाउँदै हुनुहुन्छ । कुरो बुझियो नि ! 
 

टिप्पणीहरू