छतको पानी सडकमा फाल्न नपाइने, अटेर गरे कारवाही

छतको पानी सडकमा फाल्न नपाइने, अटेर गरे कारवाही
सुन्नुहोस्

पर्साको वीरगञ्ज महानगरपालिकाले छतको पानी सडकमा नखसाल्न नगरवासीलाई आग्रह गरेको छ । पानी सोझै सडकमा खसाउँदा सडक संरचनामा क्षति पुगेको भन्दै महानगरले यस्तो आग्रह गरेको हो । 

छतबाट खसाइएको पानीले सडकमा खाल्डाखुल्डी हुनुका साथै पैदलयात्रीसमेत समस्यामा परेको उल्लेख गर्दै महानगरले व्यवस्थित तवरले नालामा पठाउन पनि नगरवासीको ध्यानाकर्षण गराएको छ । 

‘यस वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र बनेका घरहरुका छत–छानाबाट वर्षातलगायत अन्य प्रयोग भएका पानी सोझै सडकमा खसाई सडक संरचनामा नराम्रोसँग क्षति पुर्याइ सडकमा खाल्डो हुनुको साथै आवतजावत गर्ने यात्रीहरुको शरीरमा समेत पानी खस्ने गरेको पाइएकोले त्यस्ता किसिमका कार्यहरु अविलम्ब बन्द गरी व्यवस्थित तवरले छतको पानी नालामा खसाउनु हुन सम्बन्धित सबैमा यसै सूचनामार्फत जानकारी गराइन्छ’, महानगरले विज्ञप्ति निकालेर भनेको छ । 

त्यस्तै, कसैले सूचनालाई अवहेलना गरेर छतबाट पानी खसाएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने महानगरपालिकाको चेतावनी छ ।

टिप्पणीहरू