उच्च शिक्षामा दलित महिलाको पहुँच बढाउन ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’

उच्च शिक्षामा दलित महिलाको पहुँच बढाउन ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’

सिन्धुलीको तीनपाटन गाउँपालिकाले उच्च शिक्षामा दलित समुदायका महिलाको पहुँच अभिवृद्धि गर्न ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

गाउँपालिकाले पालिकाभित्रका तीन वटा सरकारी तथा सामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका र गर्न चाहने दलित महिला (छोरी तथा बुहारी) को क्याम्पस भर्ना र मासिक शुल्क आफैंले व्यहोर्ने कार्यक्रम सञ्चालनमा ल्याएको छ । 
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले उक्त कार्यक्रमबाट लाभ लिन सरोकारवालालाई आग्रह गरेका छन् । उनका अनुसार ‘सासूको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रममा सहभागी हुन बुहारी भए सासु र छोरी भए आमाले भर्ना गरिदिनुपर्छ । 

त्यस्तै, महिला अभिभावक परिवारमा नभएमा सगोल परिवारका अन्य महिला नातेदारले छोरी वा बुहारीलाई क्याम्पस भर्ना गर्न लैजानुपर्नेछ । तर, अभिभावक समेत नभएमा सम्बन्धित वडाको महिला वडा सदस्यले भर्ना गर्न लैजानुपर्ने र क्याम्पसले सोहीअनुरुप भर्ना गरिदिने व्यवस्था गरिएको छ । 

गाउँपालिकाले भर्ना हुँदाका बखतको फोटो अनिवार्य खिच्नुपर्ने जनाउँदै यसरी नियमानुसार भर्ना हुने दलित समुदायका छोरी, बुहारीको भर्ना शुल्क र मासिक शुल्क पालिकाको शिक्षा शाखामार्फत् निकासा माग गरिने जानकारी गराएको छ ।
 

टिप्पणीहरू