अबदेखि विदेशी च्यानलको नाममा मनपरी शुल्क लिन नपाइने

अबदेखि विदेशी च्यानलको नाममा मनपरी शुल्क लिन नपाइने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी च्यानलले उपभोक्ताबाट लिन पाउने मासिक शुल्क निर्धारण गरेको छ । केबल, डिटिएच, एमएसओ, एमएमडीएस, आईपीटिभी, डिटिटिभीलगायतका माध्यमबाट टेलिभिजन च्यानल प्रशारण गर्न इजाजतपत्रप्राप्त संस्थाले उपभोक्तासँग लिन पाउने मासिक शुल्क तोकिदिएको छ ।

राष्ट्रिय प्रशारण नियमावली, २०५२ को नियम ११ को उपनियम (४) बमोजिम विदेशी सःशुल्क टेलिभिजन च्यानल (पे–टिभी) को शुल्क निर्धारण गरिएको हो । मन्त्रालयका अनुसार प्रशारण संस्थाहरुले उपभोक्ताबाट मासिक न्यूनतम २५० रुपैयाँ लिन पाउने छन् । यसका अतिरिक्त उपभोक्ताले खरिद गर्ने बुकेका आधारमा थप शुल्क तिर्नुपर्ने हुन्छ । 

स्टार इण्डिया प्राइभेट लिमिटेडका सम्पूर्ण च्यानलका लागि प्रतिमहिना ६५ रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, सोनी पिक्चर्स नेटवर्क इण्डिया प्रालिको ६५, इण्डियाकास्ट मिडिया डिस्ट्रिब्युसन लिमिटेड प्रालिको २५ रुपैयाँ मासिक शुल्क तोकिएको छ । जी इन्टरटेन्टमेण्ट इन्टरप्राइजेजको २५, बेनेट कोलमेन एण्ड कम्पनी लिमिटेडको दुई, बीबीसीको दुई र होम बक्स अफिसको १५ रुपैयाँ निर्धारण गरिएको छ ।

टिप्पणीहरू