चितवनमा यो कस्तो ‘अग्रज पत्रकार सम्मान’ ?

चितवनमा यो कस्तो ‘अग्रज पत्रकार सम्मान’ ?

जन्मनु ठूलो कि संघर्ष गर्नु अनि जिउनु, हँ ? जन्म नवलपरासीमा भएपनि जनअर्पण साप्ताहिकको कर्मक्षेत्र कहाँ हो ? सुरुदेखि नै नारायणगढमा अफिस राखेर भरतपुर, चितवनलाई नै कार्यक्षेत्र बनाएर चल्दै आएको पत्रिकाको चिनारी चितवनबाटै लुकाइदिने ? जनअर्पण भनेपछि भरतपुर, नारायणगढलाई पनि नवलपरासी नै देख्ने पत्रकार महासंघ पत्रकारहरुको साझाघर हो।

जनअर्पण साप्ताहिकका सम्पादक गोपाल परियारको छाप्रो गैंडाकोटमा भएपनि चितवनमा नेपाल पत्रकार महासंघको जग बसाउन अहम् भूमिका छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको स्थापनामा जुटेर सुरुदेखि महासंघको सदस्यता पनि चितवन शाखाबाटै लिइरहेका गोपाल परियार पत्रकारिता जगतमा कहाँको भए ? चितवनकै पत्रकार होइनन् ? 

जनअर्पणलाई जसरी जन्मेकै वा दर्ता भएकै आधारमा कुरा गर्ने हो भने गोपाल परियारको जन्म त नवलपरासीमा भएकै होइन । तर घर गैंडाकोटमा छ, २५ वर्षदेखि गैंडाकोटमै बसोबास गरिरहेछन् । गैंडाकोटकै भनिन्छन्, गैंडाकोटमै गनिन्छन् । वृद्धभत्ता पनि गैंडाकोटबाटै पाउँछन् । यस्तै, पत्रकारिता कर्ममा गोपालको थलो नै चितवन भएपछि पत्रकारको रुपमा पाउने सेवा–सुविधा पनि चितवनबाट किन नपाउने ? चितवनकै पत्रकार भनेर चिनिन्छन् परियार । बीसौं वर्षदेखि पत्रकारिताको उर्जाशील समय चितवनमै व्यतीत गरी, बूढेसकालमा पनि अझै संघर्ष गर्दै चितवनबाटै पत्रिका चलाइरहेका गोपाललाई चितवनका सबै पत्रकारहरुले पाउने सेवा–सुविधामा बराबर समेटिनुपर्ने होइन र ? 

जनअर्पण साप्ताहिकको दर्ता २०५७ मा नवलपरासीमा भएपनि सुरुदेखि निरन्तर रुपमा भरतपुर, चितवनबाटै सञ्चालित छ । पहिले सहयोगी हातहरु थिए । समाचारहरु पनि तगडा आउँथें, स्थानीय साप्ताहिक भएपनि कुनैसमय निकै चर्चित पत्रिका हो । खोजीखोजी पढिन्थ्यो । पछिल्लो २–३ वर्षयता भने बूढा एक्लैले धान्नु परिरहेछ । ६७ वर्षका वृद्ध कमजोर पनि भइसके । गाँजा खाने छोराको भर छैन, बाउको पत्रिका छोडिसक्यो । अहिले बूढाबूढी बाँच्न पनि गोपालले घस्रिँदै पत्रिका चलाइरहेछन् । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैं घरमा छोरासँग पनि राम्रो छैन । 

सुकुम्बासी हुन्, सम्पत्ति छैन । पत्रकारहरुको आफ्नो घर भनिने महासंघबाटै करौंती चलाइएपछि बूढाको के हालत होला ? बूढाबूढी दुवै सुगर, प्रेसर, मुटु, थाइराइड लगायत रोगी छन्, महिनाको ८–१० हजारको औषधिले नपुग्ने अवस्था छ । योबेला पत्रकारहरुको आफ्नो साझा घर भनिने महासंघले सहज जीवनयापनका लागि सक्दो टेवा पुर्‍याउनुपर्नेमा महासंघमार्फत् चितवनका अरु पत्रकार र सञ्चारमाध्यमहरुले पाउँदै आएको सेवा–सुविधामासमेत कैँची चलाउँदै, पाखा पार्दै आएपछि कसरी अग्रज सम्मान होला र ? 

त्यसो त जनअर्पणको घर भनौं वा बसोबास तथा कार्यालय वा कार्यक्षेत्र जे भनेपनि भरतपुर, चितवन नै हो भन्ने पनि जगजाहेर छ । तथ्यहरुमा मेटिन सक्ने कुरै होइन । तैपनि पत्रकार महासंघ चितवनबाट चितवनको पत्रकारिताको चिनारी एवम् अभिलेखीकरणका लागि प्रकाशन गरिँदै आएको ‘पुस्तक’मा जनअर्पणको नाम छैन । 

जनअर्पणलाई चितवनको पत्रिका होइन भन्नै मिल्दैन । हरिप्रसाद पोखरेल अध्यक्ष भएर आफ्नै सम्पादनमा ‘पत्रकारिता चितवन’ निकाल्नुअघि जनअर्पणमा उनका पिता मोहनप्रसाद पोखरेलबारे राजावादी पत्रकारलाई लाग्यो खानेबानी शीर्षकको समाचार प्रकाशित भएको थियो । प्रेस काउन्सिलमै उजुरी परेको भएपनि प्रमाणसहित समाचार प्रकाशन भएकोले जनअर्पणले हार्नुपरेन । पहिलो अंकमा भर्खर चितवनबाट निस्किन थालेको सामान्य साप्ताहिक पत्रिका बागीश्वरीको नाम बरु ‘बर्दिया दर्ता’ भनेर पत्रपत्रिकाको सूचीमा उल्लेख गर्दा पनि त्यतिबेलाको चर्चित पत्रिका जनअर्पणको नाम उनले पत्रकारिता चितवनमा राखेनन् ।
 

यससम्बन्धमा तत्काल गुनासो पोख्दा अधिवक्ता समेत रहेका प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले समेत जनअर्पणमाथि अन्याय भएको बताएका थिए । जनआस्था साप्ताहिकमा समाचार पनि प्रकाशन भएको थियो । पत्रकारिता चितवनको त्यसपछिका अंकहरुमा बरु बागीश्वरी साप्ताहिकको नाम सूचीबाट हटाइयो तर सँधै जनअर्पणलाई नसमेटी नै निकाल्ने गरिएको छ । हरि अहिले जापान छन्, यता पत्रकारिता चितवनको सम्पादक छन् राधेश्याम खतिवडा । राधेश्यामलाई पनि उनी महासंघको अध्यक्ष हुँदादेखि नै बारम्बार भनिएको हो । तर अहिले पनि जनअर्पणलाई पत्रकारिता चितवनमा छुटाइएको छ ।
 
तैपनि, हिम्मत नहारी, विचलित नभई गोपाल आफ्नो कर्ममा निरन्तर लागिपरेकै छन् । भरतपुर, चितवनबाटै पत्रिका चलाउँदैछन् । प्रेस काउन्सिल नेपालको ‘ख’ वर्गमा छ । जनआस्थाका उतिबेलाका संवाददाता नवराज ढकालले ऊ बेला जनअर्पणमा पनि लेख्थे । एक त गोपाल थरले परियार भए । दलित भनेर पनि ब्राह्मणवादी प्रवृत्तिकाहरुले नागरिकतामै नामथर अजय गोर्खाली रहेका परियारका छोराको नाम त भन्दाभन्दै ‘पत्रकारिता चितवन’मा पत्रकारहरुको लिस्टमा जबरजस्ती अजय गोर्खाली परियार लेखेर बारम्बार छापिरहे । अजयको फोन नं. पनि ८–१० वर्षसम्म यसबीचका सबै कार्यकालका पदाधिकारी तथा अध्यक्षहरुलाई भन्दै आएपनि नसच्याएरै सधैं बिगारे ।

रिह्याबबाट फर्केपछि जिल्ला प्रहरी कार्यालय चितवनमा आयोजित एक कार्यक्रममा भेटिँदा अध्यक्ष नारायण अधिकारीले अबको पत्रकारिता चितवनमा अजयको नाम, फोन नं. सच्चिएर आउने, जनअर्पणको नाम पनि सूचीमा समावेश हुने आफैं बताएका थिए । अजयको फोन नं. सच्चिएपनि जनअर्पणको नाम भने पत्रकारिता चितवनमा अहिले पनि नराखेकै देखियो । प्रहरी कार्यालय परिसरमा भेटिँदा अध्यक्ष अधिकारीले जिल्लाका सबै मिडियालाई बाँड्न प्रदेश सरकारबाट वितरित स्वास्थ्यसम्बन्धी विज्ञापन अबबाट जनअर्पणलाई पनि दिने बताएका थिए । उक्त विज्ञापनसमेत नवलपरासी दर्ता भनेर सुरुदेखि जनअर्पणलाई उपलब्ध गराइएको छैन । अधिकारीले नै भनेका हुँदा यसपालि जनअर्पणले डकुमेन्टसमेत महासंघको कार्यालय सचिवलाई बुझायो । तर विज्ञापनचाहिँ जनअर्पणलाई दिइएनछ ।

चितवनबाट पत्रकारहरुले साझा रुपमा पाउने सेवा–सुविधाबाट जनअर्पण र परियार सधैं यसरी नै ठगिँदै आएका छन् । भरतपुरमा अघिल्लो वर्षदेखि पत्रकार महासंघ चितवनकै पहलमा महानगरपालिकाबाट कोष बनाएर ज्येष्ठ पत्रकारहरुलाई मासिक ४००० रुपैयाँ भत्ता दिने व्यवस्था भएको छ । तर गोपाललाई उमेर पुगेर पनि उक्त भत्ता नपाउनेमै पारिएको छ । पत्रकार महासंघ चितवनको सदस्य भएर र भरतपुरमा घर छ भनेचाहिँ पत्रकारितामा सक्रिय र समर्पित नभएकाले पनि उक्त भत्ता पाउनेगरी व्यवस्था भएपछि नाममात्रका पत्रकारको पनि पोल्टा भरिँदैछ । भरतपुरमा व्यापारी–व्यवसायीसँग पनि प्रेसकार्ड तथा पत्रकार महासंघको परिचयपत्र छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको गत चैत्र २४ को लागि तोकिसकेको अधिवेशनसमेत सदस्यता शुद्धीकरणकै विषयमा विवाद भएर रोकिएको छ । 

चितवनको पत्रकार महासंघको पहलमा, महासंघकै तर्फबाट उपलब्ध सेवा–सुविधा चितवनबाटै सञ्चालित अरु मिडियाले पाउँदा आफ्नै संस्थापक सदस्य रहेका गोपाल परियार र जनअर्पणलाई नदिइनु अपमान होइन र ? 

महासंघको पहलमा सम्पूर्ण मिडियालाई भरतपुरबाट प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापनमासमेत जनअर्पणमाथि करौंती लगाइएको छ । ख वर्गका अरु पत्रपत्रिकाले मासिक १० हजार रुपैयाँको विज्ञापन महानगरबाट नियमित पाउँदा जनअर्पणलाई ‘दर्ता नवलपरासी’ भन्दै बल्लतल्ल पाँचहजारको मात्रै दिइएको छ । आफ्नै कार्यक्षेत्रबाट पाउने सेवा–सुविधामा जनअर्पणलाई जिल्याइएको छ । महानगर प्रमुख रेनु दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारी प्रेस सेन्टरकै हुन् ।

गोपाल पनि प्रेस सेन्टर चितवनकै मान्छे । तर गोपाल र गोपालको पत्रिकाले पाउनुपर्ने पूराहक महानगरबाट दिलाइएको छैन । आजसम्म भरतपुर, चितवनबाट पत्रकारिता गरेर गोपालले न भरतपुरको भत्ता पाउन सके, न त भरतपुरबाटै पत्रिका चलाएर सबैलाई बराबर रुपमा दिँदै आएको विज्ञापन समान रुपमा पाउन सके !!

कार्यक्रममा देखाउनलाई त भरतपुर, चितवनको हाम्रो पत्रकार भनेर महानगरप्रमुख रेनु दाहालको हातबाट पनि सम्मानित गराइएको छ । तर उनले पाउनुपर्ने र पाउने वा पाउनसक्ने सेवा–सुविधा तथा आर्थिक अवसरका कुराहरुमा सदैव कैंची चल्छ भने केको सम्मान ? 

 

टिप्पणीहरू