कर अनुगमन ‘फ्रेन्ड्ली’ रहेको आन्तरिक राजस्व कार्यालयको दाबी

कर अनुगमन ‘फ्रेन्ड्ली’ रहेको आन्तरिक राजस्व कार्यालयको दाबी

आन्तरिक राजस्व कार्यालयले नियमित रुपमा अघि बढाएको अनुसन्धान, अनुगमन तथा निगरानीलाई कडाईका साथ निरन्तरता दिने भएको छ । कार्यालयका अधिकारीहरुका अनुसार राजस्व असुलीको विभिन्न शीर्षकमा कर तिर्नुपर्ने व्यवस्थालाई अझ चुस्त र दुरुस्त बनाउन उनीहरु खटिनेछन् ।

सो कार्यमा काठमाडौं उपत्यकामा रहेका कार्यालयहरुले पनि आफ्नो निगरानी बढाउने, तत्काल जरिवाना गराउने र कानूनले बन्देज लगाएका सामान जफत गर्ने बताइएको छ । सोही क्रममा आन्तरिक राजस्व कार्यालय बानेश्वरले गत आर्थिक वर्षमा ४ लाख ५५ हजार जरिवाना तिराएको तथ्याङ्क छ ।

त्यहाँबाट खटिएका कर अधिकृतको टोलीले अनुगमनको क्रममा तीन सय ९० करदाताको अनुगमन गरेको थियो । तीमध्ये केहीमा कैफियत फेला परेको बताइन्छ । उनीहरुले खाता स्पष्ट नराखेको, बिल दुरुस्त नभएको, घरेलु मदिराको बजारीकरण गरिएकालगायत कैफियत फेला परेको थियो । 

अनुगमनकै क्रममा झुठ्ठा कर विवरण पेश गर्नेलगायत गैरकानुनी कार्य गर्नेलाई जरिवाना गराइएको थियो । आन्तरिक राजस्व कार्यालय, बानेश्वरका सूचना अधिकारी कोष शैलेन्द्र रिजालका अनुसार गत आर्थिक वर्षमा राजस्व असुलीको वार्षिक लक्ष्य ८ अर्ब ५० करोड २६ लाख १८ हजारको रहेकोमा सोही अवधिमा ६ अर्ब ८३ करोड ५६ लाख ५८ हजार असुली भएको छ । विभागको राजस्व असुलीको अनुपातमा हेर्दा उक्त रकम ८० दशमलब ४१ प्रतिशत हुन आएको छ ।

कार्यालयमा हालसम्म ११ हजार ९ सय ८१ जना दर्ता भएका छन् भने व्यक्तिगत प्यान १ लाख ७ हजार ९ सय २५ जनाले प्राप्त गरेको बताइन्छ । अन्तशुल्कमा १ हजार ६५ जना दर्ता छन् । 

यसैगरी, डब्ल्यू प्यान (विथ होल्डर) मा ६३ जना पुगेका छन् । दैनिक छ जना अधिकृतको छुट्टाछुट्टै तीन वटा समूह बनाएर अनुगमनमा निस्कने लक्ष्य लिइएको कार्यालयले जनाएको छ । बुद्धनगर, शंखमूल, बिजुलीबजार, बानेश्वर, सिनामंगललगायत मुख्य बजारमा आफ्नो अनुगमनलाई केन्द्रित गर्ने गरिएको पाइएको छ ।

आफुहरुको अनुगमन ‘फ्रेन्ड्ली टाइप’ को हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी कोष शैलेन्द्र रिजालले भने, ‘कर तिर्नुपर्छ भन्ने कर्तव्यको जनचेतना जगाउने र त्रुटी भेटिएको खण्डमा देखाउने, बुझाउने र सम्झाउने गरिन्छ ।’
 

टिप्पणीहरू