स्वास्थ्यकर्मी नियुक्तिमा जनस्वास्थ्य संघको आपत्ति

स्वास्थ्यकर्मी नियुक्तिमा जनस्वास्थ्य संघको आपत्ति

नेपाल जनस्वास्थ्य संघले प्राविधिक स्वास्थ्यकर्मी बाहेकको नियुक्तिप्रति आपत्ति जनाएको छ । 

विभिन्न दातृ निकाय, युएन एजेन्सी, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्थाहरुले जनस्वास्थ्य क्षेत्रमा पदपूर्ति गर्दा प्राविधिक स्वास्थ्यकर्मी बाहेकका व्यक्ति नियुक्ति गर्ने गरेको भन्दै संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । 

‘जनस्वास्थ्य क्षेत्रको संवेदनशीलता नबुझी जनस्वास्थ्यको प्राविधिक क्षेत्रमा कार्य गर्ने जिम्मेवारीमा समेत जनस्वास्थ्यकर्मीहरु नियुक्त नगर्ने मनसायले न्यूनतम योग्यतामा स्वास्थ्यसेवा बाहेकका विषयलाई समेत समावेश गर्ने तथा उक्त जिम्मेवारीमा प्राविधिक स्वास्थ्यकर्मी बाहेकका व्यक्ति नियुक्ति गर्ने गरेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको कानूनबमोजिम स्वास्थ्यसम्बन्धी व्यवसायी परिषद्ले स्वास्थ्यसम्बन्धी अध्ययन, अध्यापनको गुणस्तर कायम गरी जनस्वास्थ्यलगायत अन्य स्वास्थ्यकर्मीको दर्ता गर्ने र सोपश्चात् मात्र स्वास्थ्यकर्मीहरु आफ्नो व्यवसायिक क्षेत्रमा सेवा गर्न पाउने प्रावधान रहेको उल्लेख गर्दै संघले यसरी पदपूर्ति गर्दा विद्यमान कानूनको उल्लंघन भएको समेत बताएको छ । 

संघले आगामी दिनमा विशेष गरेर प्राविधिक जनशाक्ति नियुक्ति गर्दा स्वास्थ्य, जनस्वास्थ्य क्षेत्रको गाम्भीर्यतालाई मध्यनजर गरी सम्बन्धित विषय विज्ञलाई मात्र नियुक्त गर्न माग गर्दै जनस्वास्थ्यकर्मीहरुको सबै प्रकारका विज्ञापन तथा नियुक्तिको सन्दर्भमा अनुगमन गर्न समेत सम्बन्धित व्यवसायी परिषदसमक्ष अनुरोध गरेको छ ।

टिप्पणीहरू