मल भन्सारको गोदाममा, किसानहरु भदौरे घाममा

चीनबाट ल्याइएको रासायनिक मल चार महिनादेखि सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार यार्डमा थन्किएको छ । तर सिन्धुपाल्चोककै किसानहरु एक किलो मलको अभावमा छट्पटाइरहेका छन् । उनीहरु एक किलो मलका लागि घण्टौं लाइनमा बस्न बाध्य भएको देखिन्छ ।

धान र कोदो रोप्ने मुख्य सिजनमा रासायनिक मल नपाएपछि छटपाएका किसानहरु दुःखजिलो गरेर रोपेको धान र कोदोको बढ्दो बालीमा मल हाल्नुपर्ने बाध्यतामा छन् । तर घण्टौंसम्म भदौरे घाममा उभिँदा पनि उनीहरुले पाएका छैनन् । कतिपय मल खोज्दै डिपो, केन्द्र र इजाजतप्राप्त सहकारी संस्थातिर धाउन थालेका हुन् ।

तातोपानी भन्सार यार्डमा गत जेठ महिनामा आइपुेको झण्डै चार टन युरिया मल थन्केको भन्सार कार्यालयले जनाएको छ । समयमै भित्रिएको मल चेकजाँच गरेर पठाउन नसक्दा चीनबाट आयातित अन्य सामाग्री स्थान अभावका कारण गोदाम गरेर चेकजाँच गर्न अप्ठ्यारो भएको बताइन्छ । 

भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार कृषि मन्त्रालयसँगको सम्झौतामा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका लागि नमस्ते ग्लोबल लजिस्टिक र सिल्क ट्रान्सर्पोट कम्पनीले चीनबाट मल नेपाल भित्र्याएका हुन् । सरकार र आयातकर्ताको लापरबाहीका कारण कागजी प्रक्रिया र सिफारिसपत्र पेश नहुँदा किसानको खेतबारीमा पुग्नुपर्ने मल भन्सार यार्डमा नै थन्किएको हो ।
कृषि मन्त्रालयबाट सिफारिस प्राप्त नभएका कारण जाँचपास नगरेको मल गोदाममै रहेको भन्सार प्रमुख केसीको भनाई छ । मन्त्रालयको सिफारिस प्राप्त हुने बितिक्कै जाँचपास गराएर मल राजधानी काठमाडौंतर्फ पठाइने छ । 

धान र कोदो रोप्ने समयमा रासायनिक मल नपाएर कम्पोष्ट मलको भर परेका सिन्धुपाल्चोकका किसानहरुमा बालीका लागि फेरि गाईवस्तुकै मलको भर पर्नुपर्ने हो कि भन्ने चिन्ता चुलिँदै गएको छ । उनीहरु युरिया मलका लागि सिन्धुपाल्चोकलगायत काभ्रेपलाञ्चोकमा मलको खोजी र जोहो गर्दै हिँड्न थालेका छन् । गत वर्ष पनि चीनबाट नेपाल भित्रिएको रासायनिक मल झण्डै पाँच महिना भन्सारको गोदाममा नै थन्किएको थियो । झण्झटिलो प्रक्रिया र फितलो नियमनका कारण यसपटक पनि उक्त मल किसानसम्म पुग्न नसकेपछि भन्सारको गोदाममा नै थन्काउनु परेको हो ।

टिप्पणीहरू