गोरखापत्रका कर्मचारीहरुको पाखुरामा कालोपट्टी

गोरखापत्रका कर्मचारीहरुको पाखुरामा कालोपट्टी
सुन्नुहोस्

पूर्णसरकारी स्वामित्वको गोरखापत्र संस्थानका श्रमजीवी पत्रकार तथा कर्मचारीहरु आन्दोलित भएका छन् । श्रमजीवी पत्रकार संघ नेपाल, गोरखापत्र संस्थान, प्रतिष्ठान समितिको नेतृत्वमा आजदेखि चरणबद्ध आन्दोलन थालिएको बताइएको छ । 

आफ्ना सात बुँदे माग पूरा नभएसम्म संस्थानमा कालो ब्यानर टाँग्ने र पाखुरामा कालोपट्टी बाँधेर दैनिक काममा खटिने उनीहरुले बताएका छन् । आवश्यकताअनुुसार व्यवस्थापकको निवास घेर्नसमेत पछाडि नपर्ने उनीहरुको चेतावनी छ । 

लामो समयदेखि करारमा कार्यरत पत्रकार, कामदार, कर्मचारी, स्ट्रिन्जरमा काम गरेका श्रमजीवीलाई अनिवार्य स्थायीको माग गरिएको छ । श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ सँग नबाझिने गरी कर्मचारी विनियमावली अनिवार्य संशोधन गर्न, गैरकानुनी ढंगले नियुक्त गर्ने र निष्कासनको कार्य रोक्न, सामाजिक सुरक्षा कोष अनिवार्य लागु गर्नुपर्ने माग आन्दोलनकारीहरुको छ ।

त्यसैगरी, श्रमजीवीलाई बिना भेदभाव कामको मूल्याङ्कनका आधारमा समान व्यवहार गर्न, अन्य सरकारी कार्यालयझैं संस्थानका करार र ज्यालादारी सेवामा कार्यरत कर्मचारीलाई सेवासुविधाको व्यवस्था गर्न, हालै न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेबमोजिम पारिश्रमिक वृद्धि गर्नुपर्ने बताइएको छ । 

संस्थानमा व्यापक आर्थिक अनियमितता भएको समितिको ठहर छ । स्तरहीन छपाई, गुणस्तरहीन मसी, कागज खरिदमा अनियमितता, अपारदर्शी ठेक्कापट्टा रोक्न आग्रह गर्दै ‘स्मार्ट गोरखापत्र’ व्यवहारमा लागु गर्न भनिएको छ ।

लामो समयदेखि रोकिएको कर्मचारीको वृत्तिविकास पनि तत्काल अघि बढाउनुपर्नेमा समितिले जोड दिएको छ । गत बुधबार संस्थानका अध्यक्षलाई जानकारीसहितको तीन दिने अल्टिमेटम पत्र बुझाइएको थियो । तर समस्या समाधानमा चासो नदेखाइएको बताउँदै आजदेखि आन्दोलन थालिएको उनीहरुको भनाई छ ।

टिप्पणीहरू