बजार अनुगमन तीब्र बनाउन सरकारी निर्देशन

बजार अनुगमन तीब्र बनाउन सरकारी निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीब्र बनाउन निर्देशन दिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् मुलुकभरका स्थानीय तहलाई विभागले चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी रोक्न निर्देशन दिएको छ ।
 
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिमको स्थानीय बजार अनुगमन समिति सक्रिय बनाई सोको नियमावली समेतमा भएका कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि अनुगमनमार्फत विभिन्न नाममा हुन सक्ने गैरकानूनी तथा उपभोक्ता हकहितविरुद्धका क्रियाकलाप नियन्त्रण एवम् आवश्यक कारबाही गर्न भनेको छ । 

त्यस्तै, कतिपय कम्पनीले इजाजतपत्र नलिई प्रत्यक्ष बिक्रीवितरण गरेको गुनासो प्राप्त भएको उल्लेख गर्दै विभागले सम्बन्धित सरोकारवाला निकायलाई सतर्क गराउँदै वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को दफा ३० बमोजिम अनुगमन समिति सक्रिय बनाउन समेत जारी परिपत्रमा उल्लेख छ ।
 

टिप्पणीहरू