कोशी प्रदेश खारेजीको माग गर्दै लगातार आन्दोलन गरिरहेको ‘प्रदेश नं. १ नामांकन संयुक्त संघर्ष समिति’ले जनजातिहरुलाई नजिस्क्याउन एमाले नेता महेश बस्नेतलाई चेतावनी दिएको छ ।
पहिचानवादीहरुको साझा मोर्चाका रुपमा रहेको संघर्ष समितिले जातीय सद्भाव खल्बल्याउने गरी बस्नेतले आदिवासी जनजाति समुदायलाई गालीगलौज गरेको भन्दै उक्त अभिव्यक्ति सच्याउन चेतावनी दिएको हो ।
समितिले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’२०८० भदौ २३ गते सुनसरीको धरानमा भएको कार्यक्रममा महेश बस्नेतले साम्प्रदायिक हिंसालाई बढावा दिनेगरी, जातीय सद्भाव खलबल्याउने गरी आदिवासी जनजातिलाई गालीगलौज गरेकोप्रति प्रदेश नं. १ पुनː नामाङ्कन संयुक्त सङ्घर्ष समिति घोर भत्र्सना गर्दै उक्त अभिव्यक्ति फिर्ता लिन चेतावनी दिन्छौँ ।’
विज्ञप्तिमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको नाममा ‘कोशी’ लेखिएको पर्चा सामाजिक सञ्जालहरुमा पाइएको उल्लेख गर्दै त्यसलाई तत्काल हटाउन सबन्धित पक्षलाई आग्रहसमेत गरिएको छ । कोशीमा हुने जुनसुकै कार्यक्रमको ब्यानरलगायत कुनै पनि प्रचार सामग्रीमा ‘कोशी’ नाम उल्लेख नगर्न र उच्चारण नगर्न पनि संघर्ष समितिले आग्रह गरेको छ ।
कोशी नाम कौशिकी ऋषिबाट आएकाले त्यसले सिंगो प्रदेशको भावना समेट्न नसक्ने पहिचानवादीहरुको निष्कर्ष पनि विज्ञप्तिमा उल्लेख छ । ’नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको बृहत् नेपाली शब्द कोश अनुसार ‘कोशी’ को अर्थ कौशिकी ऋषि भन्ने हुन्छ । कौशिकी भन्ने व्यक्ति भारतको उत्तर प्रदेशका ऋषि थिए । ऋषिको नामबाट गोत्र बन्यो । एउटा गोत्र (बाजे) को नामले आम प्रदेशवासीको साझा भावनाको प्रतिनिधित्व गर्न सक्दैन’, विज्ञप्तिमा लेखिएको छ ।
यसका साथै भूगोलका हिसाबले पनि नेपालको सिमाना दक्षिणमा भीमनहर ब्यारेजदेखि कुर्सेला घाटसम्म मात्र कोशी नदीका नामले चिनिने भएकाले प्रदेशको नाम ‘कोशी’ खारेजयोग्य रहेको संघर्ष समितिको ठहर छ ।
हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा दोहोरिएसँगै पुनः सक्रिय हुन थालेका पहिचान पक्षधरहरुले नाम खारेजीका लागि दबाब दिन आगामी असोज २ गते विराटनगरमा बृहत मोटरसाइकल र्याली निकाल्ने तयारी गरेका छन् । संङ्घीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपक्षेतालाई स्थापित गर्दै ‘कोशी’ नाम खारेजी गरेर पहिचानको आधारमा पुनः नामाङ्कनको लागि र्याली गर्न लागिएको संघर्ष समितिले जनाएको छ ।