नेपाललाई ट्रान्जिट बनाएर हङकङबाट भारतमा हुने सुन तस्करीको अनुसन्धानलाई जरैसम्म पुर्याउने केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रयास प्रक्रियागत झन्झटका कारण कमजोर भएको छ ।
हङकङबाट कार्गो गरी ब्रेक सुमा लुकाएर ल्याइएको तस्करीको सुन राजस्व अनुसन्धानको टोलीले गत साउन २ गते बरामद गरेको थियो । उक्त प्रकरणको अनुसन्धान गर्ने जिम्मा पाएको सिआइबीले यससम्बन्धी आवश्यक सूचना लिन र तस्करहरुको जालो पत्ता लगाउन दुई छुट्टाछुट्टै टोली हङकङ र भारत पठाएको थियो । तर, हङकङको टोली रित्तो हात फर्किएको छ ।
सिआइबीले डिएसपी धर्म भण्डारीको नेतृत्वमा एउटा टोली भारत र एसएसपी दिनेश आचार्य नेतृत्वको टोलीलाई हङकङ पठाएको थियो ।
भारत गएको टोलीले भने तस्करीमा प्रत्यक्ष संलग्नता रहेको आशंकामा सुमन खरेल र किशोर बस्नेतलाई उतैबाट पक्राउ गरी ल्याएको छ ।
संगठित अपराधअन्तर्गत अनुसन्धान गरेको सिआइबीले 'म्युचल लिगल असिस्टेन्स' प्रक्रियामार्फत नेपाल बाहिर पनि अनुसन्धान अघि बढाएको थियो । तर, लम्बेतान र झन्झटिलो प्रक्रियाका कारण हङकङ र भारत दुबैतिर अनुसन्धान प्रभावकारी हुन नसकेको निष्कर्ष छ । अन्तरदेशीय अपराधका यस्ता मामिलामा अनुसन्धान गर्ने टोली सिधै अर्को मुलुकमा जान पाउँदैन । त्यसका लागि लामो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
गृह मन्त्रालय स्रोतका अनुसार अनुसन्धान गरिरहेको निकायले शुरुमा प्रहरी हेडक्वार्टरलाई पत्र लेखेर अनुमति माग्नुपर्ने हुन्छ । हेडक्वार्टरले पनि कानुन मन्त्रालयलाई पत्र लेखेपछि बल्ल परराष्ट्र पुग्छ । परराष्ट्रले सम्बन्धित देशको दूतावासको अनुमति पाएपछि मात्रै थप प्रक्रिया अघि बढ्ने हो । एकातिर ६० दिनभित्र मुद्दा चलाउनुपर्ने चाप, अर्कोतिर लामो प्रक्रिया पुरा गर्नुपर्ने हुँदा हङकङमा सफलता नपाएको यस प्रकरणको अनुसन्धान गरिरहेका एक अधिकृतले बताए ।
उनका अनुसार सम्बन्धित प्रहरी अधिकृतको व्यक्तिगत पहलले भारतबाट दुई जना पक्राउ गर्न सिआइबीको टोली सफल भएको हो । सिआइबीले यस प्रकरणमा २९ जनाविरुद्ध मुद्दा चलाउन राय दिँदै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । उनीहरूविरुद्ध भन्सार ऐन,अवैध सुन पैठारी तथा सङ्गठित अपराधअन्तर्गतका मुद्दा चलाउन सिफारिस गरिएको छ ।
तस्करीमा संलग्न रहेको आशंकामा २३ नेपाली र ९ विदेशीसहित ३२ जना पक्राउ परेका छन् भने ४ नेपाली र १४ विदेशीसहित १८ जना फरार छन् ।