चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै धादिङ अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि अस्ति भएको सांघातिक आक्रमणको निन्दा गर्दै कालोपट्टी बाँधेर एक घण्टा ओपिडी सेवा बन्द गरेका छन् । उनीहरुले दोषीमाथि कारबाहीको मागसमेत गरेका छन् ।
चिकित्सकमाथि हातपात गर्नेलाई कानुन अनुसार कारबाही हुनुपर्ने माग राखिएको धादिङ अस्पतालका डाक्टर रुद्रमणि भण्डारीले बताए । ‘ड्यूटीमै रहेका चिकित्सक कुटिएको छ । मरणासन्न अवस्थामा पुर्याइएको छ । कानुन छ, नेपाल मेडिकल काउन्सिल छ । हाम्रो माग दोषीलाई कारबाही गर्न ऐक्यबद्धता हो ।’
अस्ति हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत दुईजना डाक्टर सन्तोष थापा र प्रशान्त बिँडारीमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै बिरोध कार्यक्रम गरिएको डाक्टर राम रिजालले बताए । ‘अहिलेलाई अस्पतालमा सेवा ठप्प त पार्दैनौं । तर दोषीलाई कारबाही नभएमा चरणबद्ध रुपमा आन्दोलन गरिनेछ । त्यतिबेला सेवाग्राहीलाई असर पर्न गए हामी क्षमा चाहन्छौ,’ उनले भने ।
चिकित्सकमाथि हातपात हुने गरेको यो नयाँ घटना होइन । ठाउँ ठाउँमा हुने गरेका यस्ता घटनाको निन्दा गर्दै आगामी दिनमा थप घटना हुन नदिन र दोषीलाई कारबाहीको मागमा ऐक्यबद्धता जनाउन विरोध सभा गरिएको डाक्टर दिनेश रेग्मीको भनाई छ । कुटपिटको घटनापछि चिकित्सकहरुले असुरक्षित महशुस गरेका छन् । ‘घटनामा संलग्नलाई पक्राउ गरेर कारबाही गरिनुपर्छ । बित्ररामीको ज्यान बचाउने चिकित्सककै ज्यानको सुरक्षा भएन भने कसरी सेवा प्रवाह गर्नु ? अस्पतालमा बिरामीको अधिक चाप छ । हामी उपचारमै व्यस्त छौं । हातमा कालोपट्टी बाँधेर गरिएको विरोध दोषीमाथि कारबाहीको माग हो,’ उनले भने ।