शीतल निवासमा ६४ जना पत्रकार पुरस्कृत

शीतल निवासमा ६४ जना पत्रकार पुरस्कृत
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले २०४६ सालपछि नेपालमा मिडियाको क्षेत्रमा उल्लेखनीय कार्य भएको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सव तथा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त धारणा राख्नुभएको हो । 

उहाँले पछिल्लो दुई दशकमा मुलुकले पत्रकारिताको क्षेत्रमा मारेको फड्को ठूलो उपलब्धीपूर्ण रहेको उल्लेख गर्नुभएको छ । ‘२०४६ पछि नेपालमा कुनै ठूलो कुरा भएको छ भने त्यो मिडिया क्रान्ति नै हो’ उहाँले भन्नुभयो । पञ्चायतकालमा आफूले पनि पत्रकारिता गरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले कुनैपनि मुलुकको प्रेस स्वतन्त्रताको अवस्था नै उक्त देशको समृद्धिको सूचक रहेको बताउनुभएको छ । 

निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने उहाँको विश्वास छ । प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि प्रश्न उठ्न नदिन काउन्सिलले निष्पक्ष, स्वतन्त्र र सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्माले काउन्सिलको भूमिकालाई प्रशासनिक कार्यमाभन्दा पत्रकारिता क्षेत्रकै नियमन र पत्रकारको स्वःनियमन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा केन्द्रित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले आर्थिक संकटका बीचमा पनि नेपाली मिडियाले आफ्नो दायित्व नभुलेको उल्लेख गर्नुभयो । त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रेससम्बन्धी कानुन निर्माणको कार्य फास्ट ट्रयाकबाट गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

काउन्सिलले वार्षिकोत्सवको अवसरमा वरिष्ठ पत्रकारहरू, काउन्सिलका पूर्व पदाधिकारी र सदस्यसचिवलाई सम्मानसमेत गरेको छ । साथै विभिन्न विधामा ६४ वटा पुरस्कार वितरण गरेको छ ।

गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई 

यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको छ । सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका पत्रकार दमन राइलाई प्रदान गरिएको छ । एक लाख ५१ हजार राशीको गोपालदास र एक लाख १० हजार राशीको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्नुभएको हो ।

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक, काभ्रे, राममणि दाहाल मकवानपुर र माधवसिंह धामी कञ्चनपुरलाई दिइएको छ ।

प्रेस काउन्सिल शसक्त सञ्चारकर्मी पुरस्कार सागर पण्डित र चुडामणी भट्टराईलाई दिइएको छ । यस्तै भाषागत पत्रकारिता पुरस्कार धनुषाबाट प्रकाशित हुने आँजुर द्वैमासिकलाई प्रदान गरिएको छ । काठमाडौँबाट प्रकाशित हुने हिमाली गुँरास द्वैमासिकलाई प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार दिइएको छ । 

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई प्रदान गरिएको छ । युवा पत्रकारिता पुरस्कार १९ जना, महिला सशक्तिकरण पत्रकारिता पुरस्कार छ जना र समावेशी पत्रकारिता पुरस्कार सात जनालाई प्रदान गरिएको छ । विधागत पत्रकारिता पुरस्कार फोटो पत्रकार केशवराज थोकर र कलापत्रकार नेमिस गौतमलाई दिइएको छ ।

यस्तै प्रेस काउन्सिल नेपाल उत्कृष्ट कर्मचारी पुरस्कार शाखा अधिकृत विष्णु शर्मा लम्साल र मिडिया अनुगमनकर्ता प्रेमचन्द्र बडुलाई प्रदान गरिएको छ । कर्मचारी प्रोत्साहन पुरस्कार वरिष्ठ प्रशासन सहायक लक्ष्मी पौडेल र कार्यालय सहयोगी मनोजकुमार मण्डललाई दिइएको छ । सेवाअवधि २० वर्ष पूरा गरेको अवसरमा यस वर्षको दीर्घसेवा पदकबाट कुचीकार रमा द्यौलालाई सम्मानित गरिएको छ ।
 

टिप्पणीहरू