भूकम्पले भत्काएको २५ वर्षे केटाको सपना

भूकम्पले भत्काएको २५ वर्षे केटाको सपना
सुन्नुहोस्

विनाशकारी भूकम्पले मोरक्कोसँगै भत्कायो २५ वर्षीय ओमर ऐत माबारेकको ‘एउटा सपना’ । महिना दिनपछि बिहे गर्न लागेका उनी हिजोआज एकोहोरो टोलाइरहेका छन् । उनी दुःखी छन्, तनावै–तनावमा बाँचिरहेका छन् । ‘मन पराएकी प्रेमिकालाई पत्नी बनाउने सपना देखेका’ ओमर पीडा छल्न मोबाइलतिर हेर्छन्, क्षणभरमै आँशु खसाल्छन् ।

गत शुक्रबार राति मोरक्कोमा भूकम्प आउनु केही मीनेटअघि ओमर आफ्नी प्रेमिकासँग फोनमा कुरा गरिरहेका थिए, त्यहीबेला ‘मुटु हल्लाउने’ ठूलो कम्पन आयो । र, फोनमा भाँडो खसेको आवाज सुने । त्यसपछि फोन काटियो ।

भूकम्पले बेस्सरी हल्लाएपछि उनी पनि बाटोमा निस्किए । त्यतिखेर मानिसहरूबीच भागाभाग मच्चियो । जमिन फाट्दैथियो, घर भत्किँदै थिए । ओमरको सपना बिग्रिँदै गयो र मनमा त्रास फैलियो । उनले चार घण्टापछि ‘मीना ऐत बिही’ बितेको खबर सुने ।

मीनाको न्यास्रो मेट्न बेलाबेला त्यो मोबाइल चलाउँछन् ओमर । तर हप्ता दिनअघि सँगसँगै घुमघाम गरेको सम्झिएर भक्कानिन्छन् उनी ।

मीना र ओमर प्रेमी–प्रेमिका थिए, वैवाहिक बन्धनमा बाँधिँदै थिए । ओमरकी पत्नी बन्दै थिइन् मीना । तर उनलाई ओमरले घर भित्र्याउनुअघि नै भूकम्पले लग्यो ।
ओमर पुराना दिन सम्झिएर रोइरहेका छन्, मीनाको शव गाडिएको खाल्डो हेरेर टोलाइरहेका छन् । आँशुले भरिएका ‘राता आँखा’ले भूकम्पपछिको पीडा दर्शाइरहेका छन् । ‘भूकम्पले मोरक्को भत्कायो । तिख्त गाउँ भत्कायो । मेरो बिहे गर्ने सपना भत्कायो । गन्न नसकिने गरी मानिसको मृत्यु भयो,’ ओमरले भने ।

‘चिहान बन्यो तिख्त गाउँ’

एउटा सुन्दर गाउँ थियो– तिख्त । अहिले त्यो गाउँलाई शक्तिशाली भूकम्पले भत्काएको छ । उद्धारकर्ताहरू तिख्त गाउँको भग्नावशेषबाट एक महिलाको शव निकाल्न संघर्षरत थिए । तर, यो काम निकै चुनौतीपूर्ण थियो । भूकम्पले ढलेका घरमुनि कैयौँ मानिस चेपिएका छन् । उनीहरू धेरैको मृत्यु भइसकेको छ । अहिले शव निकालिँदै छ ।

उत्तर अफ्रिकी देश मोरक्कोमा गएको भूकम्प ६ दशकयताकै सबैभन्दा घातक थियो । समाचार एजेन्सीसँग २५ वर्षीय ओमारले आफ्नी प्रेमिकालाई कम्बलमा बेरेर चिहानमा लगिएको बताए, जहाँ अन्य ६८ जनाको शव पहिल्यै राखिएको थियो । उद्धारकर्ताले मीनाको शव भग्नावशेषबाट निकाल्दा उनको साथबाट एउटा मोबाइल पनि फेला परेको थियो, जुन अहिले ओमरसँगै छ ।

मीनाको न्यास्रो मेट्न बेलाबेला त्यो मोबाइल चलाउँछन् ओमर । तर हप्ता दिनअघि सँगसँगै घुमघाम गरेको सम्झिएर भक्कानिन्छन् उनी । भूकम्पले थलिएको छ, मोरक्को । अनि सुनसान र मरिसकेको छ– तिख्त गाउँ । पहिले तिख्त गाउँमा कम्तीमा सय परिवारको बस्ती थियो । अहिले गाउँ भग्नावशेष छ, सग्ला छैनन् घरहरू । भत्किएका छन् बाटोघाटो । ढुंगा–इँटा, भाँचिएका काठ, लुगाफाटो र जुत्ता नराम्रोसँग छरिएका छन् । ३३ वर्षीय मोहसिन अक्सुमले समाचार एजेन्सीसँग भने, ‘यहाँको जीवन समाप्त भइसक्यो, अब यो गाउँ मरिसक्यो ।’

तिख्त गाउँका अधिकांश घर माटोले बनेका थिए । भूकम्पको शक्तिशाली धक्काले सबै घर एकैसाथ भत्किए । ‘यो एउटा सानो गाउँ थियो, सुन्दर थियो । मानिसहरूले घर बनाउँदा विनाशकारी भूकम्पबारे सोचेनन् तर अहिले गाउँका धेरै सदस्य गुमायौँ,’ २३ वर्षीय विद्यार्थी अब्देलरहमान एडजलले भने ।
 

टिप्पणीहरू