मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको नेपाली राजदूतावासले ब्रुनाईमा कन्सुलर सेवा प्रदान गर्ने भएको छ । ब्रुनाईमा रहेका नेपाली नागरिकलाई लक्षित गरी दूतावासले ७ र ८ अक्टोबरमा कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ ।
यसअघि क्वालालम्पुरबाट दिँइदै आएको सेवालाई थप सरल र सहज रुपमा उपलब्ध गराउने उद्देश्यले ब्रुनाईमा कन्सुलर सेवा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको दूतावासले जनाएको छ ।
जसअनुसार ब्रुनाईमा रहेको ब्रिटिश आर्मी क्याम्पमा बिहान साढे ९ बजेदेखि बेलुकी ५ बजेसम्म सेवा प्रदान गरिनेछ । राहदानी नवीकरणका लागि सक्कल राहदानी, नागरिकताको सक्कल वा स्पष्ट बुझिने प्रतिलिपि पेश गर्नुपर्नेछ । यसका लागि ३१० मलेसियन रिंगिट शुल्क तोकिएको छ ।
राहदानी हराएको, च्यातिएको वा कुनै कारणले बिग्रिएर नयाँ बनाउनुपरेको खण्डमा ६२० रिंगिट शुल्क तिर्नुपर्ने छ । अनलाइनमार्फत आवेदन दिएकाहरुले मात्र सेवा पाउने दूतावासले स्पष्ट पारेको छ ।
दूतावासको वेवसाइटमा रहेको लिंकमा गएर फाराम लिन सकिने सूचनामा उल्लेख छ । नेपाली श्रमिकलाई राहदानी बनाउनैका लागि दूतावास धाउन नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम गरिएको दूतावासको दाबी छ ।