गैंडा जोगाउनै मुश्किल, एक वर्षमा डेढ दर्जन सखाप
गत चैत २९ गते चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई वटा गैंडा मृत अवस्थामा भेटिए । निकुञ्जको अमलटारी सेक्टरमा पर्ने मर्दी घोलस्थित नारायणी नदीको भङ्गालो क्षेत्रमा एउटा गैंडा मृत अवस्थामा फेला परेको थियो ।
त्यस्तै, निकुञ्जभित्रकै मध्यवर्ती क्षेत्रमा पर्ने काँसघारीमा अर्को बच्चा गैंडा मृत अवस्थामा भेटियो । बगही माडी सेक्टरमा पर्ने रिउ खोलाको दक्षिण किनारमा मृत अवस्थामा भेटिएको उक्त गैंडा बाघको आक्रमणबाट मारिएको हुनसक्ने अनुमान गरिएको छ ।
यता, अमलटारी सेक्टरको मर्दी घोलमा मृत भेटिएको गैंडा आपसमा जुधेर मरेको हुन सक्ने निकुञ्जले बताएको छ । यसअघि फागुन २४ गते पनि निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत शेरी पोष्ट नजिक कोर क्षेत्रमा एक सिंगे गैंडा मृत अवस्थामा फेला परेको थियो ।
त्यस्तै, गत माघ ६ गते नवलपुरको मध्यबिन्दु नगरपालिका वडानम्बर २ को नारायणी नदी किनारमा दुई वटा गैंडा मृत अवस्थामा भेटिए । तीमध्ये एउटाको खाग निकालिएको थियो । यसबाट चोरी शिकारमा गैंडा मरेको हुन सक्ने अधिंकाश स्थानीयको आशंका छ ।
यता, माघ ८ गते चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एउटा गैंडाको बच्चा मृत फेला पर्यो । निकुञ्जका अनुसार मेघौली क्षेत्रको नारायणी नदी किनारमा एक महिनाको गैंडाको बच्चा मृत फेला परेको हो । उक्त गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जको दाबी छ ।
यता जेठ २ गते ललितपुरको स्टिलटावरमा गैंडाको खागसहित तीन जना पक्राउ परे । चितवन घर भई हाल ललितपुरको एकान्तकुना बस्दै आएका २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र काठमाडौंको नयाँबजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ सो प्रकरणमा समातिएका हुन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, ललितपुरबाट खटिएको प्रहरी टोलीले स्टिलटावर चोक नजिकबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुको साथबाट २ सय ९७ मिलिग्राम तौल भएको गैंडाको खाग (ओखेटोपहार) बरामद गरेको बताइएको छ ।
यस्तै, गैंडा मारी खाग चोरी गरेको मुद्दाका फरार प्रतिवादी यमबहादुर बानियाँ गत असोज ८ गते २५ वर्षपछि पक्राउ परे । २०५५ कात्तिक २८ गते चितवन राष्ट्रिय निकुञ्जको गैंडाको खाग काटेर चोरी गरेको तथा वन्यजन्तु कसुर मुद्दामा बानियाँलाई २०५७ माघ २५ गते निकुञ्ज कार्यालयले दश वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय तोकिदिएको थियो ।
त्यसलगत्तै फरार भएका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको प्रहरीले भरतपुर महानगरपालिका वडा नम्बर १० चौबिसकोठीबाट नियन्त्रणमा लिएको जनाइएको छ ।
उनलाई आवश्यक कानूनी कारबाहीका निम्ति निकुञ्जको कार्यालय पठाइएको छ । पछिल्लो समय दुर्लभ एकसिङ्गे गैंडा संरक्षणमा चुनौती देखिएको छ ।चोरीशिकारीसँगै उचित बासस्थानको व्यवस्था नहुँदा गैंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको माथि उल्लेखित घटनाले प्रष्ट पार्छ ।
अहिले प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढ्दो छ । एक आपसमा जुधेर, घोलमा फसेर, बच्चा जन्माउन नसकेर, तालमा डुबेर, बाढीले बगाएर, बच्चा गैंडा भाले गैंडाको आक्रमणमा परेर वा बाघजस्तो वन्यजन्तुको आक्रमणबाट पनि गैंडा मर्ने क्रम जारी छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पछिल्लो एक वर्षमा अठार वटा गैंडाको मृत्यु भएको छ । त्यसमध्ये तीन वटा गैंडाको मृत्यु मानवीय कारणले हुँदा अन्य गैंडा प्राकृतिक कारणले मरेको विभागको दाबी छ । विभागले चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनासम्म भने चार वटा गैंडा मृत अवस्थामा फेला परेको जनाएको छ ।
दुर्लभ एकसिङ्गे गैंडाको प्रमुख बासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमै सबैभन्दा बढी गैंडाको मृत्यु भएको विभागको तथ्याङ्कले देखाउँछ । तथ्याङ्कअनुसार गत वर्ष चितवन राष्ट्रिय निकुञ्जमा १६ वटा गैंडा मृत अवस्थामा फेला परेका थिए । बाँकी दुई वटा मृत गैंडा बर्दिया राष्ट्रिय निकुञ्जमा भेटिएको बताइएको छ ।
विभागले चालु आर्थिक वर्षको असोज महिनासम्म मरेका चार वटा गैंडा पनि चितवन राष्ट्रिय निकुञ्जमै फेला परेको जनाएको छ । विभागका प्रवक्ता एवम् उपमहानिर्देशक अजय कार्कीका अनुसार नेपालमा सात सय ५२ वटा गैंडा छ । तर, पछिल्लो समय बढ्दो मानवीय गतिविधिका कारण गैंडामाथि जोखिम बढेको उनी बताउँछन् ।
‘उचित बासस्थान नहुँदा गैंडा मानव बस्तीमा आउने गरेको छ । यस्तो अवस्थामा मानव वन्यजन्तुबीचको द्वन्द्वका कारण पनि यसको संरक्षणमा चूनौती देखिएको छ । अर्कोतर्फ दलदलमा फस्ने र बाढीले बगाएर लैजाने समस्या पनि प्रमुख छ । प्राकृतिक स्रोतमाथि बढ्दो मानवीय चापका कारण वन्यजन्तु बासस्थानको कमी हुदैँ गइरहेको छ,’ उनले भने ।
कार्कीले कमजोर भौतिक संरचना, स्रोतसाधनको अपर्याप्तता, वन्यजन्तुको बासस्थान खुम्चनु, क्षयीकरण तथा संरक्षित क्षेत्रबीचमा जैविक मार्ग सहज नहुनु, संरक्षित क्षेत्रका पूर्वाधार पुराना र जीर्ण अवस्थामा हुनु, वातावरणीय प्रदूषणजस्ता कारण गैंडा संरक्षण थप चुनौतीपूर्ण बन्दै गएको समेत बताए ।
गैंडा संरक्षणको निम्ति गस्ती कार्यलाई सशक्त बनाउनुपर्ने, बासस्थान व्यवस्थापनमा सुधार गर्नुपर्ने, मिचाहा प्रजातिलाई नियन्त्रण गर्नुपर्ने र गैंडाको बासस्थानमा पर्ने असर न्यूनीकरण गर्न विकास परियोजना निर्माण गर्दा वन्यजन्तुमैत्री उपाय अपनाउनुपर्नेमा उनी जोड दिन्छन् ।
योसँगै मानव र वन्यजन्तुबीचको सम्बन्ध प्रगाढ बनाउन तथा आम जनस्तरमा वन्यजन्तु संरक्षणका लागि जनचेतनामूलक सन्देश प्रवाह गर्न आवश्यक रहेको उनले बताएका छन् ।
टिप्पणीहरू