बेलायतले भोलिदेखि भीसा शुल्क बढाउँदै,गोर्खालाई पनि मार

बेलायतले भोलिदेखि भीसा शुल्क बढाउँदै,गोर्खालाई पनि मार

बेलायत सरकारले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत कर्मचारीहरूको तलवका लागि थप कोष व्यवस्थापन गर्न भीजामा अतिरिक्त शुल्क लगाएपछि अक्टोबर ४ देखि नयाँ शुल्क लागु हुँदैछ ।

बेलायतका विभिन्न भीजाहरूमा १५ देखि २० प्रतिशतसम्म बृद्धि भएको छ । नयाँ दरअनुसार ६ महिनाको भिजिट भीजा शुल्क यसअघि १०० पाउण्ड रहेकोमा अब ११५ पाउण्ड तिर्नुपर्नेछ । दुई वर्षको भिजिट भीजाको शुल्क ३७६ पाउण्ड रहेकोमा अब ४०० पाउण्ड र पाँच वर्षको शुल्क ६७० पाउण्ड रहेकोमा अब ७७१ पाउण्ड तिर्नुपर्नेछ ।

सेटलमेन्टका लागि यसअघि १ हजार ५३८ पाउण्ड रहेकोमा अब १ हजार ८४६ पुगेको छ । सेटलमेन्टमा आउने डिपेन्डेन्टका लागि भने ३ हजार २५० यथावत छ ।

आवासीय अधिकार पाएकाहरूको डिपेन्डेन्टका लागि बेलायत आउन जनही २ हजार ४०४ पाउण्ड लाग्ने गरेकोमा अब २ हजार ८८५ पाउण्ड पुगेको छ । सन् १९९७ जुलाई १ देखि सेवा निवृत्त भएका गोरखाहरूका लागि १ हजार ८४६ पाउण्ड लाग्ने छ ।

यस्तै,वर्क परमिटमा बेलायत आउन पनि शुल्क १५ प्रतिशत बृद्धि गरिएको छ भने बेलायतमा अध्ययन गर्न आउने विद्यार्थीले आवेदन गर्दा लाग्ने शुल्क पनि ३५ प्रतिशतसम्म बढाइएको छ । यसअघि जनही ३६३ पाउण्ड लाग्ने गरेकोमा अब ४९० पाउण्ड पुगेको छ ।

यसैगरी, बेलायतको नागरिक बन्न लाग्ने शुल्क पनि बढाइएको छ । यसअघि नेचुरलाइजेसन गर्न १ हजार २५० पाउण्ड लाग्ने गरेकोमा अब १ हजार ५०० तिर्न पर्नेछ ।

बेलायतमा स्वास्थ्य सेवा उपयोगवापत तिर्नपर्ने हेल्थ सरचार्ज पनि बढाइएको छ । यसअघि ६२४ पाउण्ड तिर्नपर्नेमा अब १ हजार ३५ पाउण्ड पुर्याइएको छ ।

सबैभन्दा धेरै बृद्धि भने बेलायतको इनडिफिनिट लिभ टु रिमेन (आइएलआर) का लागि गरिएको छ जसमा ४८१ पाउण्ड बढाइएको छ ।

टिप्पणीहरू