सबै श्रेणीहरू

सुपरीवेक्षक मल्ललाई तीन दिन भित्र हाजिर हुन आदेश

सुपरीवेक्षक मल्ललाई तीन दिन भित्र हाजिर हुन आदेश

परिक्षालाई मर्यादित बनाउने जिम्मेवारी बोकेर रुकुमबाट कालिकोट पुगेका एक शिक्षक परिक्षामा अनियमित गरेको आरोपमा कारबाहिको फन्दामा पर्ने देखिएका छन् । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ११ मा रहेको हिमालय माध्यमिक बिद्यालय खोलागाउँका सहायक प्रशिक्षक लोकेन्द्र मल्ल माथि परिक्षामा अनियमित गरेको आरोप लागेको हो । उहाँलाई यहि आरोपमा कुरा बुझ्न भन्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद कर्णाली प्रदेश कार्यालयले पत्र काटेको छ । आईतबार तयार पारिएको पत्रमा मल्ललाई तीन दिनभित्र कार्यालयमा उपस्थित भई यथार्थ कुरा बताउन अल्टिमेटम दिईएको छ । कर्णाली प्रदेश कार्यालयका प्राविधिक अधिकृत प्रेम प्रसाद बाँस्कोटाका अनुसार मल्लमाथि परिक्षामा अनियमति गरेको जानकारी प्राप्त भएको छ । 

मल्ललाई गत भदौ २२ गतेदेखि असोज १ गतेसम्म कालिकोटको रास्कोट नगरपालिकाको वडा नम्वर ८ स्थित जनजागृति माविमा बाह्य सुपरिवेक्षकको रुपमा खटाईएको थियो । प्रि डिप्लोमा तहको अन्तिम परिक्षा सञ्चालनका लागि बाह्य सुपरिवेक्षक बनाईएका मल्लले त्यहाँ पुगेर बिद्यार्थीहरुबाट परिक्षामा पास बनाईदिने भनेर रकम असुलेको आरोप छ । 

कृषि प्राविधिक पढ्ने विद्यार्थीहरुको परिक्षामा विद्यार्थीलाई पास गराईने प्रलोभनमा सुपरिवेक्षकबाटै पैसा असुली गरिएको जानकारी पश्चात परिषद् कारबाहिको तयारीमा लागेको हो । परिक्षा केन्द्रमा सिटिईभिटी कार्यालयबाटै सुपेरिवेक्षणका लागि खटिएका सुपरिवेक्षक मल्लले प्रति बिद्यार्थी एक हजारको दरले रकम असुल गरेको बताईन्छ । 

परिक्षामा बडिमालिका माध्यमिक विद्यालय रास्कोटबाट १७ जना, ज्ञानोदय माध्यमिक विद्यालय राम्नाकोटबाट ४ जना र जनप्रभात माध्यमिक विद्यालय लालुबाट १९ जना गरी ४० जना विद्याथी सहभागी भएका थिए ।

उनीहरु सिटिभिईटी अन्तरगत कोही कृषि बालीविज्ञान र कोही भेटेरेनरी जेटियो पढने विद्यार्थीहरु हुन । सुपरिवेक्षक मल्लले प्रत्येक परिक्षार्थीहरुबाट एक हजारका दरले रुपैया उठाएर दिए परिक्षामा चिट चोराएर भएपनि पास गराई दिने प्रलोभन दिएको विद्यालय व्यवस्थापन समिति श्रोतले जनाएको छ । 

भनेको रकम नदिएका ६ जना विद्यार्थीहरुलाई सुपेरिवेक्षक मल्लले फेल गराईने धम्की दिन थालेपछि घटनाको रहस्य विद्यार्थीबाटै सार्वजनिक भएको थियो । घटनापछि ईलाका प्रहरी कार्यालय रास्कोटमा छलफल भएको र सुपेरिवेक्षक मल्लले १६ हजार रुपैया फिर्ता गरेको बताईन्छ । बाँकि रकम असोज १० गते भित्र फिर्ता गर्ने प्रतिबद्धता गरेतापनि फिर्ता नगरेको बताईन्छ ।