सबै श्रेणीहरू

नेकपा एसको ‘समाजवादी जागरण अभियान’जारी,दुई हजार बढीको पार्टी प्रवेश

नेकपा एसको ‘समाजवादी जागरण अभियान’जारी,दुई हजार बढीको पार्टी प्रवेश

नेकपा एकीकृत समाजवादी पार्टीले थालेको ‘समाजवादी जागरण अभियान, २०८०’ रौतहट आइपुगेको छ । गत असोज १४ गतेदेखि थालिएको अभियान झापा,मोरङ,सुनसरी, सप्तरी,सिरहा,धनुषा, महोत्तरी,सर्लाही हुँदै रौतहटको गौर आइपुगेको हो । 

पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले आज बाराको सिमरा र निजगढमा पनि सम्मेलन गरिने बताए । हरेक जिल्लामा भएको सभामा जनमानसको विशाल उपस्थिति देखिएको उनको भनाइ छ । 

उनका अनुसार सभामा एक लाखभन्दा बढी जनसहभागी हुन सक्ने देखिएको छ । मुलुकको समसामयिक विषयलाई उठाइएकाले सोचेभन्दा धेरैले उपस्थिति जनाएको प्रवक्ता खतिवडाको जिकिर छ । 

‘रोजगारी,सुशासन र समृद्धिलाई मूल नारा बनाएकाले धेरै जनसहभागिता देखिएको छ । अहिलेसम्म सबै ठाउँमा भव्य रुपमा सभा सम्पन्न भएको छ । अब अरु ठाउँमा पनि त्यही अपेक्षा राखेका छौं । मेचीदेखि महाकालीसम्म थालिएको अभियान असोज २९ गते सुर्खेत पुगेर टुंग्याउँछौं’, उनले भने । 

उक्त अभियानले पार्टी सुदृढीकरण गर्न निकै सहयोग पुर्याउने उनले बताए । कृषिमा सुधार, कृषिको बजारीकरण, कृषि उत्पादनलाई अनिवार्य सरकारले खरिद गर्नुपर्नेलगायतका विषयलाई मुख्य एजेण्डा बनाइएकाले किसानहरु पनि आकर्षित भएको उनको भनाइ छ । 

सप्तरीको राजविराज, छिन्नमस्ता,अर्नाहा र चन्हीमा गरिएको सभामा पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताले गरेको सम्बोधनले पार्टीको लोकप्रियता झनै बढेको उनले बताए । 

सभामा सात सय बढीले आफू जोडिएको पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसले नयाँ तरङ्ग सिर्जना गरेको समाजवादीका नेताहरुले बताएका छन् । हालसम्म भएको १८ वटा सभामा दुई हजार आठ सय जनाले पार्टी प्रवेश गरेको जनाइएको छ । एकीकृत समाजवादीले १० हजार बढीले पार्टी प्रवेश गर्ने अनुमान लगाएको छ ।