आङ सिरिङ्ग पार्ने त्यस्तो अत्याचार

आङ सिरिङ्ग पार्ने त्यस्तो अत्याचार

नानचिङमा जापानी सेनाको प्रवेशलगत्तै वरपरका गाउँमा आतंक मच्चिन थालिसकेको थियो । आतंककारी राक्षसहरू पसेर मान्छे मार्न, झुपडी जलाउन लागे भन्दै रातिराति डसना–ओढ्ने च्याप्दै खेतमा सुत्न जान तम्सिए गाउँलेहरू । तर, केही दिनसम्म पनि साचाउ वेइ गाउँमा जापानी पसेनन् । खेत चिसो हुनाले गाउँले आ–आफ्नो घरमा सुत्न थाले । त्यसरी घर फर्कनेमा चाङ सिउहोङ पनि थिइन् । यसबेला १२ वर्षकी उनका बाजेले परिवारका सबै सदस्यलाई घर फर्काएलगत्तै जापानी सेनाको एउटा टुकडी गाउँ पस्यो । बुट लगाएका अनि दाह्री पालेका । उनीहरू खुला स्थानमा रोकिए । गाउँलेलाई डाके अनि महिला र पुरुष छुट्ट्याए । केही गाउँले उनीहरूको खुट्टा समातेर हामी सैनिक होइनौँ भन्दै रोए, कराए । तर सबैलाई घिसार्दै नजिकको खेतमा लगेर गोली हानियो ।

भोलिपल्ट, चाङ बाजेसँगै बसिरहेको बेला एकजना जापानी सैनिक ढोका फोरेर भित्र पसे । उनी ‘फूल’ (राम्री युवती) खोज्न त्यसरी पसेका थिए । शुरुमा बाजेतिर बन्दुक सोझ्याए । बूढोले ‘नाइँ, केही नगर्नू’ भनेपछि बन्दुक चाङतर्फ सोझियो । नातिनीको ज्यान खतरामा परेको देखेपछि बूढाले घुँडा टेकेर दया गर्न आग्रह गरे । तर, जापानी उनको कुनै कुरा सुन्न तयार थिएनन् । उल्टो बूढालाई बन्दुकको कुन्दाले घोचे । चाङले ‘जे परे पनि मै व्यहोर्छु, तपाई नकराउनुस्’ भनेर बाजेलाई सम्झाइन् । यत्तिकैमा यौनकर्म गर्न तम्सिसकेका सैनिकले चाङलाई घिसार्दै ओछ्यानमा पछारे । लगाइराखेको सुरुवाल तल सारेर चाङको शरीरमाथि चढे । उनलाई अत्यन्त पीडा भयो, उनी रोइन्, छटपटाइन् र अन्त्यमा बेहोश भइन् । होश आउँदा बाजे छाती पिट्दै रुँदै कराउँदै थिए । उनी भन्दै थिए, ‘होङ्जी, मैले केही गर्न सकिन ।’ चाङ ओछ्यानबाट उठ्न खोजिन् तर सकिनन् । शरीर दुखिरहेको थियो । ओछ्यान रगताम्य थियो । बूढाले नातिनीको दुबै खुट्टा डोरीले बाँधिदिए, किनभने चाङको योनी फाटिसकेको थियो, रगत बगिरहेको थियो । जापानी सैनिकहरू बलात्कारपछि पनि चाङलाई खोज्न उनको घर पुग्थे । घाउ आलै थियो, त्यसकारण बाजेले नातिनीलाई घाँसको चाङभित्र लुकाएर राखे । घाउमा दिनहुँ मल्हम लगाइदिन्थे, सैनिक आएको छनक पाउनेबित्तिकै फेरि घाँसभित्रै लुकाउँथे । सैनिकले घाँसमा बन्दुकको नालले घोचेर चाङलाई खोज्थे । एकपटक बन्दुकको नाल चाङको कान्छी औंलामा पर्‍याे, साह्रै दुख्यो, तैपनि उनी एैय्या नभनी, सास रोक्दै सहेर बसिरहिन् ।

पछि सैनिकले चाङलाई चिन्न नसकुन् भनेर परिवारले कपाल काटिदिए, केटाको जस्तो लुगा लगाउन दिए । चाङ परिवारका पहिलो सन्तान हुन्, उनले खेतबारीको काममा परिवारलाई सघाउन थालिन् । एकदिन फेरि जापानी सैनिकहरू गाउँ पसे । तिनीहरूमध्येका एक जना उनलाई देखेर चिच्याए ‘ओइ फूल केटी ! यता आऊ आऊ ।’ उनी यौनजन्य इशारा गर्दै चाङलाई बोलाउँदै थिए । चाङले ‘बेबकुफ, म त केटा हो केटी होइन ।’ भनेर जवाफ फर्काइन् । चाङको जवाफ सुनेर उनीहरू गलल हाँसे । त्यो दिन उनीहरूले गाउँ नै लुटे । भएभरको कुखुरा र खाद्यान्न लगे । साथै, चाङलाई पनि कुखुरा बोकाएर अघिअघि हिँड्न लगाए । चाङ उमेरले मात्र होइन उचाइ पनि सानै थियो, अनि शारीरिक रूपमा कमजोर । जब उनी सुस्तरी हिँड्न थालिन्, सिपाहीहरूले चिमोट्थे, ढाडमा बन्दुकको नालले घोच्थे । घोचेको कारण पीठबाट रगत बगिसकेको थियो । पछि किन हो कुन्नि उनलाई घर फर्कन दिइयो । पछिपछि पनि परिवारका सबै सदस्य महिनौं दिनसम्म कहिले कता त कहिले कता लुक्दै हिँडे । पछि विस्तारै जनतामाथि अत्याचार गर्ने क्रम कम हुँदै गयो । जनताले राहत महसुस गर्न थाले । चाङ भन्छिन्, ‘तर त्यसबेला पनि मारिएका गाउँलेको शव खेतबारीमा जताततै मिल्काइएको अवस्थामा भेटिन्थ्यो ।’ जापानी सैनिकको उक्त दुश्कर्मको परिणाम चाङले जीवनभरि खपिन् । सानै उमेरमा गर्भवती बनिन् । छोरा जन्मेको समय झण्डै मृत्युको मुखमा पुगिन् । सुत्केरी गराउनै ३ दिन लाग्यो । त्यसपछि सदाका लागि सन्तान जन्माउन अक्षम बनिन् । भन्छिन्, ‘अहिले पनि ‘वर्षाको समय योनीमा असाध्यै पीडा हुन्छ, सुत्नै सक्दिन ।’

‘चीन जनवादी गणतन्त्रमा परिणत भइसकेपछि बल्ल चाङको बिहे भयो । लोग्नेले पनि जापानी सेनाले नानचिङमा आमसंहार गर्दाताका अत्याचार खेपेका थिए । उनलाई समातेर लगी जबर्जस्ती श्रम गर्न लगाइएको थियो । पछि दुवै जना कम्युनिष्ट पार्टीमा लागे । जापानी सैनिकले नानचिङमा नरसंहार मच्चाउँदा बलात्कारको पीडा सहन बाध्य चाङ पहिलो व्यक्ति होइनन् । त्यो ठाउँमा मात्र कम्तीमा ८० हजार महिलाले बलात्कार सहनुपरेको थियो । तीमध्येका ६५ हजारलाई मारेर फालियो ! जापानले पहिलोपटक मञ्चुरियामाथि सन् १९३१ मा कब्जा जमायो । सन् १९३७ आइपुग्दानपुग्दै चीनको ठूलो भूभाग उसको नियन्त्रणमा गयो । र, सोही वर्षको डिसेम्बरमा नानचिङमाथि पनि कब्जा जमाउन सफल भयो । नानचिङ त्यसबेला चीनको राजधानी थियो । जापानले नानचिङमाथि कब्जा जमाएको ६ हप्तामै २ लाखभन्दा बढीको नरसंहार गरेको थियो । जापानी सेनाले थुप्रै चिनियाँलाई जिउँदै जलायो भने कतिलाई याङत्से नदीमा फालियो । चिनियाँ जनमुक्ति सेनाको एक प्रतिवेदनमा उल्लेख भएअनुसार जापानी अतिक्रमणकारी सेनाले सन् १९३७ डिसेम्बर १२ देखि २१ सम्म एक लाख ९० हजार बन्दी सेना तथा सर्वसाधारणलाई समूहमा उभ्याएर मेसिनगनले भुटेको थियो भने केही सानो समूहमा एक लाख ५० हजारलाई मारेको थियो । हत्याको प्रकृति यति धेरै आततायी कि त्यसको वर्णन गर्न नसकिने खालको थियो । उदाहरणका लागि टाउको गिँडेर, खप्पर फोरेर, छाला काढेर, मुटु कलेजो निकालेर, पानीमा डुबाएर, आगो लगाएर, यौनांग काटेर, शरीर टुक्राटुक्रा बनाएर, योनी तथा मलद्वारमा भालाले रोपेर मार्नुका साथै दूधेबालक र केटाकेटीलाई जिउँदै जलेको घरमा फालिएको थियो । भीरबाट खसालिएको थियो ।

कस्तोसम्म भने जापानी सेना कसले छोटो समयमा धेरै चिनियाँलाई मार्ने भनेर बाजी खेल्ने गर्थे । लेफ्टिनेन्टद्वय तोसिआकी मुकाइ र सुयोसी नोडाबीच २ सेकेण्डबीचमा कसले बढीलाई मार्ने भनेर डिसेम्बर १२ तारिखमा प्रतिस्पर्धा हुँदा मुकाइले १०६ जना र नोडाले १०५ जनालाई तरवार चलाएर मारेका थिए । दोस्रो विश्वयुद्ध समाप्त भएपछि स्वतन्त्र छानबिनबाट जापानी सेनाले नानचिङमा नरसंहार गरेको र एउटै शहरमा एक हप्ताबीच तीन लाखभन्दा बढी मान्छेको हत्या गरेको पुष्टि भएको थियो । जापानले पनि यो तथ्यलाई स्विकार्दै युद्धमा संलग्न सरदारलाई मृत्युदण्डसमेत दिएको थियो । नानचिङमा जापानी सेना सन् १९३७ को डिसेम्बरमा प्रवेश गरी ६ हप्तासम्म आमहत्या, बलात्कार, आगजनी गरी आतंक मच्चाएको थियो । उक्त शहर कब्जा गर्न जापानले १ लाख ५० हजार सेना परिचालन गरेको थियो । नानचिङमा मात्र ३ लाख चिनियाँको ज्यान गएको थियो । ८ वर्ष लामो युद्धमा कूल २ करोड चिनियाँले ज्यान गुमाएका थिए भने ४ लाख ८० हजार जापानी सैनिकले चिनियाँ भूमिमा ज्यान गुमाएका थिए । चीनमाथि कब्जा गर्ने क्रममा जापानले ६ लाखभन्दा बढी सैनिक परिचालन गरेको थियो ।
 

टिप्पणीहरू