टी - २० त्रिकोणात्मक सिरिजमा नेपाल लगातार अपराजित
नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजमा नेपालले लगातार चौंथो जित हात पारेको छ । आज मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि ५ विकेटको जित निकालेको हो ।
यूएईले दिएको १ सय ६५ रनको मध्यम लक्ष्य नेपालले ५ विकेट गुमाएर चार बल बाँकी छँदै पूरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेखले सर्वाधिक रनको योगदान दिए । उनले ६२ रन बनाए । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाउँदा दिपेन्द्रसिंह ऐरी ४० रनमा नटआउट रहे ।
२८ बलमा ५५ रन चाहिएको अवस्थामा आशिफ आउट भएपछि क्रिजमा आएका दिपेन्द्रले आक्रमक ब्याटिङ गर्दै नेपाललाई जितसम्म पुर्याएका हुन् । ६ चौका र एक छक्का प्रहार गरेका उनले मात्र १५ बलमा ४० रन बनाए ।
नेपालले तीन ओभरको खेल नसकिंदै महत्वपूर्ण ३ विकेट गुमाएको थियो । पहिलो ओभरको चौंथो बलमै ओपनर कुशल भुर्तेल १ रनमा आउट भए भने त्यसपछि क्रिजमा आएका सोमपाल कामी पनि लामो समय टिक्न सकेनन् । चार बलको सामना गरेका उनी दोस्रो ओभरको पाँचौं बलमा २ रनमै पेभिलिएन फर्किए ।
अघिल्लो खेलमा हङकङविरुद्ध ९२ रन बनाएका कुशल मल्ल तेस्रो ओभरको पहिलो बलमा रनआउट भएपछि कप्तान रोहितकुमार पौडेल र आशिफ शेखले नेपालको इनिङ उकासेका थिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।
नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान २/२ विकेट लिए । गुलसन झा र करण केसीले समान १/१ विकेट आफ्नो नाममा गरे ।
यूएईका लागि बसिर अहमदले सर्वाधिक ४५ रन बनाए । त्यस्तै, वृत्या अरविन्दले ४५ रनको योगदान गर्दा खालिद शाह १२ र कप्तान मुहम्मद वसिम ८ रन जोडे । निलन्स केसवानी ८ र अखिफ राजा ५ रनमा नटआउट रहे ।
सिरिजका चारै खेलमा अपराजित रहेको नेपाल फाइनल प्रवेश गरिसकेको छ ।
टिप्पणीहरू