नेपाललाई हराउँदै यूएईले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

नेपाललाई हराउँदै यूएईले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि जितेको छ । 

नेपालले दिएको १६३ रनको लक्ष्य अन्तिम बल खेल्नुअघि ६ विकेट गुमाएर पूरा गर्दै यूएईले उपाधि रक्षा गरेको हो ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा १६२ रन बनाएको थियो । उनले ५० रनको योगदान दिए । नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । पहिलो विकेटका कुशल र आसिफ शेखले ४३ रनको साझेदारी गरेका थिए । 

तर, आशिफ मात्र ७ रनमा आउट भएपछि नेपालले लगातार विकेट गुमायो । लगत्तै १ रनमा कुशल मल्ल आउट भए भने आक्रमक पारी खेलिरहेका भुर्तेल पनि अर्धशतक बनाएर पेभेलिएन फर्किए । त्यसपछि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले इनिङ सम्हाल्ने प्रयास गरे पनि विकेट पतनको सिलसिला रोकिएन ।  रोहित १८ र दिपेन्द्र २० रनमा आउट भए । नेपालका लागि सन्दीप जोरा १०, गुल्सन झा ५ र सोमपाल कामीले १३ रन बनाए भने करण केसी २३ रनमा अवजित रहे ।

१६३ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको यूएईले आक्रमक सुरुआत गरेको थियो । कप्तान महमद वासिम र आर्यान्स शर्माले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । नेपाली बलरसामु पूरै हावी भएका वासिमले सातौँ ओभरमा गुल्सल झाको बलमा आउट हुनुअघि २२ बलमा ४५ रन बनाए । 

यूएईका लागि आरयस शर्माले २५ र भृत्य अरविन्द्रले २६ रनको योगदान दिए । बलिङतर्फ गुल्सन झा र अभिनाष बोहराले समान २-२ तथा कुशल मल्लले १ विकेट लिए ।

नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले समूह चरणका चारवटै खेल जितेको थियो । तर, फाइनलमा भने त्यसअनुसारको प्रदर्शन गर्न सकेन ।

टिप्पणीहरू