सबै श्रेणीहरू

सिके राउतको पार्टीमाथि ‘माल’ बुझेको आरोप

सिके राउतको पार्टीमाथि ‘माल’ बुझेको आरोप

मधेसवादी दल जनमत पार्टीमाथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलयको नेतृत्व लिएपछि रौतहटका स्थानीय तहमा भ्रष्टाचार झन् मौलाएको आरोप लागेको छ ।

मन्त्रालयमा ‘माल’ अर्थात् रकम बुझाएपछि कार्यालय सहयोगीसमेत नगरपालिकाको निमित्त कार्यकारी अधिकृत बन्ने अवस्था आएसँगै भ्रष्टाचारको आशंका गरिएको बताइन्छ । 

दसैंको फूलपातीको अघिल्लो दिन रौतहटको बृन्दावन नगरपालिकामा दुईजना कार्यालय प्रमुख हाजिर भए । मेयरका तर्फबाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख र उपमेयरसहित अधिकांश बहुमत कार्यपालिका सदस्यले उपसचिवलाई हाजिर गराए ।

मेयरका तर्फबाट स्वास्थ्य शाखामा कार्यरत रासनारायण यादव र उपमेयरसहित वडाअध्यक्षहरुले उपसचिव सुरेन्द्र प्रधानलाई कार्यकारी अधिकृत बनाउन मरिमेटेर लाग्नुमा आर्थिक चलखेल नै मुख्य कारण रहेको जानकारहरु बताउँछन् । मेयर र उपमेयरले आ–आफ्नै अनुकूलका कर्मचारी च्यापेपछि त्यसदिन पालिकामा झडपको अवस्थासमेत आएको थियो । 

सोहीदिन नगरपालिकाको खाता खोल्न मेयर र उपमेयर समूह प्रधान र पटेललाई लिएर गौरस्थित कोष तथा लोखा नियन्त्रण कार्यालय पुगे । दुई पक्षबीच त्यहाँ पनि झडपको अवस्था उत्पन्न भएपछि जिल्ला प्रहरी कार्यालय गौरले आधा दर्जनलाई नियन्त्रणमा लिएको थियो । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम लिँदै उपसचिव सुरेन्द्र प्रधानमाथि हातपात गर्न गएकाहरुलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर पछि छाडिदिएको बताइन्छ । 

प्रधानलाई मन्त्रायलयले असोज २६ गते बृन्दावन नगरपालिकाको प्रमुख कार्यकारी बनाएर काजका लागि पत्रसमेत दिएको थियो । मन्त्रालयले नै स्वास्थ्य शाखा प्रमुख रास नारायणलाई अर्को व्यावस्था नभएसम्मका लागि निमित्त कार्यकारीको रुपमा काम गर्न भन्दै पत्र थमाएर पठाएपछि लफडा सुरु भएको र यसले झडपको अवस्था निम्तिएको समाचार स्रोतको दाबी छ । 

स्वास्थ्य शाखा प्रमुख पटेलले जनमत पार्टीका नेतालाई केही लाख नगद बुझाएर दुई महिनाका लागि निमित्त हाकिमको पत्र बुझेको स्रोत बताउँछ । 

त्यसअघि उपसचिव सुरेन्द्रलाई मन्त्रायलयले रौतहटको फतुवा बिजयपुर नगरपालिको प्रमुख कार्यकारीको रुपमा कामकाज गर्न पत्र दिएर पठाएपछि सो नगरपालिकामा उनलाई हाजिर नगराउने भन्दै नाराबाजी भएको थियो । भ्रष्टचार मुद्दामा दोषी ठहर भएर निलम्बनमा परेका मेयर गोपालराय यादवले नाराबाजी गर्न लगाएको स्थानीयको बुझाई छ ।

रौतहटका अधिकांश पालिकामा शाखा अधिकृत र उपसचिवको दरबन्दी भएपनि कर्मचारीले निमित्तका रुपमा काम गर्दै आएका छन् । त्यस्ता कर्मचारीसँग संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीका निकट भनिएका मान्छेले नै मोटो रकम बार्गेनिङ गर्ने गरेको जानकारहरु बताउँछन् ।

जिल्लाको राजपुर नगरपालिकामा समेत श्रेणीविहीन कर्मचारीले लामो समयदेखि निमित्तको रुपमा काम गर्दै आएका छन् । त्यहाँ बैजु ठाकुरले मन्त्रालयमा त्यसो गरेर ब्रम्ह्लुट मच्चाउदै आएको आरोप लगाउनेहरु समेत भेटिएका छन् ।