किसानलाई राहत वितरण गर्दै सरकार, निवेदनका लागि सूचना जारी

किसानलाई राहत वितरण गर्दै सरकार, निवेदनका लागि सूचना जारी

सरकारले विभिन्न विपदले कृषिमा क्षति पुगेका किसानलाई राहत दिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज सूचना प्रकाशित गदै यस्तो जानकारी दिएको हो । 

आर्थिक वर्ष २०८०-८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार आपतकालिन, आकस्मिक रोग तथा क्षति न्यूनीकरण कार्यक्रमअन्तर्गत कृषि क्षेत्रमा क्षति पुगेका कृषकलाई राहत वितरण गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

राहतका लागि मन्त्रालयले किसान, कृषक समूह, कृषि सहकारी, कृषि तथा पशुपन्छी फर्महरुलाई आवश्यक कागजातसहित सम्बन्धित कृषि ज्ञान केन्द्र वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा निवेदन दर्ता गराउनसमेत भनेको छ । 

रीत नपुगी प्राप्त हुन आएका निवेदनहरु छनोटका लागि समावेश नहुने सूचनामा जनाइएको छ । निवेदनका साथ विपद्बाट भएको क्षति यकिन हुने स्थानीयको रोहवरमा भएको प्रहरीको घटनास्थल मुचुल्काको सक्कल वा प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, क्षतिको मूल्यांकन हुने कृषि प्राविधिकको प्रमाणित प्रतिवेदन, पीडित कृषक-संस्थाको बैंक खातानम्बर प्रस्ट देखिने चेकको फोटोकपी पनि बुझाउनुपर्ने उल्लेख छ । 

त्यस्तै, संस्थाको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ताको प्रतिलिपि, कृषक-संस्थाको प्यान-भ्याट नम्बर, सम्बन्धित स्थानीय तहको सिफारिस, कार्यालयको सिफारिस, राहत व्यवस्थापन समितिको सिफारिस, क्षति देखिने फोटो-दृश्य-वृत्तचित्र, बीमा गरेको वा नगरेको स्थानीय तहको सिफारिस, अन्य निकायबाट राहत नलिएको स्थानीय तहको सिफारिसलगायत अन्य आवश्यक कागजात बुझाउनुपर्नेछ ।

टिप्पणीहरू