सामुदायिक होमस्टेको पूर्वाधार विकासका लागि प्रदेश सरकारको अनुदान

सामुदायिक होमस्टेको पूर्वाधार विकासका लागि प्रदेश सरकारको अनुदान

गण्डकी प्रदेश सरकारले होमस्टे पूर्वाधार विकासमा अनुदान दिने भएको छ । प्रदेशको ११ वटा जिल्लामा सञ्चालित सामुदायिक होमस्टेको पूर्वाधार विकासका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अनुदान दिन लागेको हो । 

मन्त्रालयअन्तर्गत पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले सूचना जारी गर्दै सामुदायिक होमस्टेहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ । अनुदानका लागि इच्छुक होमस्टेले १५ दिनभित्र प्रस्ताव पेश गरिसक्नुपर्ने निर्देशनालयले जनाएको छ । 

‘गण्डकी प्रदेशका ११ वटा जिल्लामा विधिवत रुपमा दर्ता–नवीकरण भई सञ्चालनमा रहेका सामुदायिक होमस्टेहरुलाई वार्षिक कार्यक्रम कार्यान्वयन मापदण्ड, २०८० बमोजिम होमस्टे पूर्वाधार विकास गर्न अनुदान प्रदान गरिने’, सूचनामा उल्लेख छ । 

कम्तीमा १० वटा घरबास संलग्न रहेको सामुदायिक होमस्टेलाई अनुदान दिइने निर्देशनालयले स्पष्ट पारेको छ । त्यस्तै, अल्पसंख्यक तथा लोपोन्मुख समुदायको हकमा पाँचवटा घरबास जोडिएर बनेको सामुदायिक होमस्टे हुनुपर्नेछ । 

प्रस्ताव पेश गर्दा सामुदायिक होमस्टेको नवीकरण भएको दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखानम्बरको प्रतिलिपि, होमस्टे रहेको स्थानीय तहको सिफारिस, होमस्टे सञ्चालित जग्गा धनीको दर्ता प्रमाणपूर्जाको प्रतिलिपिलगायतका कागजात पेश गर्नुपर्नेछ ।  

पर्यटन पूर्वाधार विकासका लागि मन्त्रालयले चालु आर्थिक वर्ष २०८०–८१ मा ‘घरबास (होमस्टे) हरुमा पूर्वाधार निर्माण (एक प्रदेश निर्वाचन क्षेत्र एक नमुना होमस्टे’ कार्यक्रम सञ्चालन गरेको छ ।
 

टिप्पणीहरू