दुई कुशल चम्किँदा विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित

दुई कुशल चम्किँदा विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित

घरेलु मैदानमा जारी आईसीसी टी-२० विश्वकप छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । 

नेपालले आज भएको समूह चरणको दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १६६ रनको मध्यम लक्ष्य नेपालले ४ विकेटको नोक्सानीमा १२ बलअघि नै भेट्टाएको हो ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले १६५ रन बनाएको थियो । नेपालको जितमा कुशल मल्लले अर्धशतकीय पाली खेले । आक्रमक खेलेका उनले मात्र ३४ बलमा ६५ रन बनाए । उनले ७ छक्का र २ चौका प्रहार गरे । 

त्यस्तै, ओपनिङ ब्याटर कुशल भुर्तेलले २५ बलमा ४३ रन बनाए । अर्का ओपनर आसिफ शेखले ३२ रनको योगदान दिए । कुशल र आसिफले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेपछि नेपालले जितको आधार खडा गरेको हो । 

कप्तान रोहित पौडेल २ रनमा पेभेलियन फर्किंदा युवा ब्याटर सन्दिप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे । आक्रमक सुरुआत गरेको मलेसियाले पावरप्ले ओभरमा ५८ रन जोडेर नेपाललाई दबाबमा राखेको थियो । एक समय नेपालले २०० हाराहारीमा लक्ष्य पाउने स्थितिबाट मध्य र अन्तिम ओभरमा नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि मलेसिया १६५ रनमा समेटियो ।   

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने, गुल्सन झा र कप्तान रोहितले १-१ विकेट लिए । मलेसियाका दुई ब्याटर रनआउट भएका थिए । 

प्रतियोगिताको पहिलो खेलमा नेपालले हिजो सिंगापुरलाई पराजित गरेको थियो ।

टिप्पणीहरू