दशैंमा घटना छिटपुट, उच्च सुरक्षा प्रबन्ध गरिएको प्रहरी दाबी

दशैंमा घटना छिटपुट, उच्च सुरक्षा प्रबन्ध गरिएको प्रहरी दाबी

हिन्दु धर्मालम्बीहरुको बडा दशैं गत शनिबारबाट सकिएको छ । प्रायः दशैंमा काठमाडौं उपत्यकासहित मुलुकभर धेरै अपराधिक घटना हुने गरेको थियो । तर, यस पटक अघिल्ला वर्षको तुलनामा मुलुकभर दशैं शान्तिपूर्ण रुपमा सम्पन्न भएको पाइएको छ । 

छिटफुट घटनाबाहेक यस पटकको दशैं शान्त वातावरणमा सम्पन्न भएको सुरक्षा निकायको तथ्याङ्कले देखाएको छ । विगतका तुलनामा दशैं शान्तिपूर्ण भएको र ठूला सवारी दुर्घटनासमेत नभएको प्रहरीले जनाएको छ । 

गत असोज २८ गते घटस्थापनादेखि कात्तिक ११ गते कोजाग्रत पूर्णिमासम्म केही छिटपुट घटना भएपनि अप्रिय घटना नभएको बताइएको छ । 

प्रहरीका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मुलुकभर एक हजार सात सय ५६ सवारी दुर्घटना भएको छ । त्यसमा ९७ जनाले ज्यान गुमाउँदा तीन सय ७५ जना गम्भीर घाइते भएका छन् । 

यस्तै, डाका चोरी छ, नकबजनी चोरी सात र साधारण चोरी ३७ गरी कुल ५० वटा चोरीका घटना भएका छन् । यता, जुवा वा सट्टाबाजीका १९ वटा घटना भएको प्रहरी तथ्याङ्कले देखाउँछ ।  

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायत यो वर्ष प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेकाले ठूला अपराधिक घटना हुन नपाएको बताउँछन् । 

उनका अनुसार काठमाडौं उपत्यकामा मात्र दशैंमा हुने अपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै सात हजार बढी प्रहरी परिचालन गरिएको थियो । 

मुलुकभर ५० हजार पाँच सय ३० जना प्रहरी परिचालन गरिएको दाबी छ । उनले राजधानीको शान्ति सुरक्षा मजबुत तुल्याउन तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर दशैंमा सुरक्षा निगरानी बढाइएको जानकारी दिए । 

यता, विशेषगरी मानिसको भीडभाड हुने स्थानमा सादा पोशाकका प्रहरी खटाइएको थियो । महत्वपूर्ण र संवेदनशील भनिएका राजमार्गका स्थानमा चेक प्वाइन्ट राखिएको बताइन्छ ।
 
योसँगै यात्रुको सहजताका लागि ट्राफिक र प्रहरीको समन्वयमा प्रत्येक बसपार्कमा नागरिक सहायता कक्षको समेत स्थापना गरिएको थियो । गत असोज २१ गतेदेखि लागू गरिएको विशेष सुरक्षा योजना आगामी छठ पर्वसम्म लागू हुने छ ।

उनले भने, ‘हामीले जुनसुकै घटनालाई पनि ठूलो रुपमा लिने गरेका छौं । फेरि त्यो घटना नदोहोरियोस् भन्ने हाम्रो उद्देश्य हो । चाडपर्वमा हुन सक्ने अपराधिक गतिविधिलाई मध्यनजर गर्दै हामीले विशेष सुरक्षा योजना लागू गरेका थियौं । अहिले पनि कायम छ । तर, दशैंमा केही अपराधिक घटना भने भएका छन् । यद्यपि, विगतको तुलनामा कमी आएको देखिन्छ ।’

प्रहरी सक्रियता र जनस्तरमा सचेतनाको अभिवृद्धिका कारण पनि यसपटक दशैंमा अप्रिय घटना हुन नपाएको उनको भनाई छ । तर, प्रहरीको कडा सुरक्षाबीच पनि काठमाडौं उपत्यकामा छिटपुट घटना भने भएको पाइएको छ । 

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म उपत्यकामा ७०८ सवारी दुर्घटना भएको छ । जसमा दुई जनाको मृत्यु हुँदा सात जना गम्भीर घाइते भएका थिए । यता, डाका तथा नकबजनी चोरी एक÷एक, साधारण चोरी १३ वा जुवातासका छ वटा घटना भएको छ । 

त्यस्तै, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर ९५ वटा र जबरजस्ती करणीका पाँच वटा घटना पनि सोही अवधिमा भएको जानकारी दिइएको छ ।

टिप्पणीहरू