संसदमा महासचिवको सम्बोधन, पाटनमा प्यालेष्टाइनको पक्षमा प्रदर्शन

संसदमा महासचिवको सम्बोधन, पाटनमा प्यालेष्टाइनको पक्षमा प्रदर्शन
सुन्नुहोस्

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई भर्खरै सम्बोधन गर्नुभएको छ । उहाँले विश्वमा शान्ति कायम राख्न भएको राष्ट्र संघीय प्रयासमा नेपालको योगदानबारे उच्च प्रशंसा गर्नुभएको छ । 

उहाँले विद्रोही हमास र इजरायलबीच भइरहेको युद्धको निन्दा गर्दै सर्वसाधारणको हताहतीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।

यता, पाटनको मंगलबजारमा प्यालेष्टाइन र प्यालेष्टिनी जनताको पक्षमा ऐक्यबद्धता जनाउँदै प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको छ । बृहत नागरिक आन्दोलन र फोटो सर्कलको आयोजनामा भएको कार्यक्रममा युद्ध विरामको निम्ति आग्रह गरिएको छ । 

उनीहरुले ‘भूमि चोर्न पाईंदैन, देश हत्याउन पाईंदैन’, ‘यो युद्ध होइन, हमला हो’ र ‘यो नरसंहार हो, मानवविरुद्धको अपराध पनि हो’ लगायत नारा लेखेका छन् ।

इजरायलले प्यालेस्टाइनको सीमा क्षेत्र गाजा शहरमा गरेको आक्रमणको विरोधमा विरोध प्रदर्शन गरिएको आयोजकले बताएको छ । नागरिक आन्दोलनका प्रमुख डा.संजिव उप्रेती तथा फोटो सर्कलका प्रमुख नैनकलाको अगुवाइमा भएको प्रदर्शनमा दर्जनौँ अधिकारकर्मी सहभागी थिए । 

प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमण र त्यसको प्रतिक्रियास्वरूप इजरायलले गरेको हमलाका कारण हजारौँ निहत्था मानिसको ज्यान गइसकेको छ । त्यस घटनामा १० जना नेपाली विद्यार्थीले समेत ज्यान गुमाएका छन् । 

हमासविरुद्ध कारवाही चलाएको इजरायलले गाजास्थित अल अहली अरब अस्पतालमा गरेको आक्रमणका कारण त्यहाँ रहेका बिरामी, स्वास्थ्यकर्मी र सुरक्षित आश्रय खोजिरहेका सर्वसाधारणको ठूलो हताहती भएको हो । उक्त घटनाले विश्व समुदायलाई स्तब्ध र आक्रोशित पारेको नागरिक आन्दोलनको ठहर छ ।

टिप्पणीहरू