राष्ट्रसंघीय महासचिवको ९ बजे पत्रकार सम्मेलन, साढे १० बजे उडान

राष्ट्रसंघीय महासचिवको ९ बजे पत्रकार सम्मेलन, साढे १० बजे उडान
सुन्नुहोस्

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज नेपालको चार दिने भ्रमण पूरा गरी फर्कंदै हुनुहुन्छ । उहाँ बिहान साढे १० बजेको कतार एअरवेजको उडानमा दोहा हुँदै लण्डन जान लाग्नुभएको हो ।

होटल सोल्टीमा बस्नुभएका महासचिवले आफ्नो भ्रमणबारे अहिले बिहान ९ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

शनिबार राति काठमाडौं आइपुग्नुभएका उहाँ आइतबार राजनीतिक भेटघाटमा व्यस्त हुनुभयो । हिजो र अस्ति बिहान सगरमाथा र अन्नपूर्ण क्षेत्रको भ्रमणमा जानुभएको थियो ।

अस्ति पोखराको फेवातालमा केहीबेर डुंगा सयर गर्नुभएको थियो भने हिजो मध्यान्ह गौतम बुद्धको जन्मस्थान लुम्बिनी पुग्नुभएको हो । 

हिजो अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवनमा संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेपछि उहाँको भ्रमणको औपचारिक तालिका पूरा भएको हो ।

उहाँको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार साँझ रात्रिभोजको आयोजना गर्नुभएको थियो । सोमबार पुल्चोकस्थित युएन भवनमा आफ्नो सम्मानमा राखिएको स्वागत कार्यक्रममा पुग्नुभएको थियो ।

टोलीमा रहनुभएका उपमहासचिव जाँ पियरे लाक्रोक्सि गएराति फर्कनुभएको छ । उहाँ राति सवा २ बजे काठमाडौंबाट कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ बाट दोहा हुँदै जानुभएको हो ।

टिप्पणीहरू