राष्ट्रसंघीय महासचिव फर्केकै समयमा सुरक्षामा खटिएका प्रहरीको निधन

राष्ट्रसंघीय महासचिव फर्केकै समयमा सुरक्षामा खटिएका प्रहरीको निधन
सुन्नुहोस्

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमण पूरा गरेर दोहा हुँदै लण्डन जानुभएको छ । उहाँ आज बिहान साढे १० बजे काठमाडौंबाट दोहा प्रस्थान गर्नुभएको हो । 

सोही समयमा यसअघि उहाँको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीको निधन भएको छ । हिजो अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगानाको आज बिहान पौने १० बजे पोखरामा मृत्यु भएको बताइएको छ ।

आधार शिविरबाट फर्कने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरबाट आज बिहान पोखरामा ल्याइएको र उपचारको क्रममा ज्यान गएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ढुंगाना गत आइतबार हेलिकोप्टरमा आधार शिविर पुगेका थिए । उनी कास्कीको अन्नपूर्ण गाउँपालिका, घान्द्रुकस्थित प्रहरीचौकीमा कार्यरत थिए ।

टिप्पणीहरू