नक्कली श्रम स्वीकृति बनाउने गिरोहका दुई जना पक्राउ

नक्कली श्रम स्वीकृति बनाउने गिरोहका दुई जना पक्राउ

नक्कली श्रम स्वीकृति बनाउने गिरोहमा संलग्न दुई जनालाई प्रहरीले समातेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौंको वनस्थली र रानीवन बस्दै आएका २३ वर्षीय अजित फेवाली र २१ वर्षीय विपिन ढकाल पक्राउ परेका हुन् । 

काठमाडौंको सोल्टीमोडस्थित कोठा भाडामा लिएर उनीहरुले नक्कली श्रम स्वीकृति बनाउने गरेको पाइएको छ । प्रहरीका अनुसार गत कात्तिक १२ गते भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरु शंकास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको थियो । 

उनीहरुबाट बरामद गरिएको कागजातमध्ये सुजल हेङगजुको श्रम स्वीकृति नक्कली देखिएपछि अनुसन्धानको क्रममा सो कार्यमा अजित र विपिनको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोल्टीमोडस्थित वैदेशिक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट नियन्त्रणमा लिएको बताइएको छ । 

प्रहरीले उनीहरुको साथबाट दुई थान मोबाइल र एक थान सीपीयु बरामद गरेको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू