विश्वकप छनोट : रोमाञ्चक खेलमा नेपाल पराजित

विश्वकप छनोट : रोमाञ्चक खेलमा नेपाल पराजित
सुन्नुहोस्

टी–२० विश्वकप छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । 

टियु क्रिकेट मैदानमा आज भएको खेलमा ओमानले नेपाललाई ५ रनले हराएको हो । हारसँगै समूह उपविजेता बनेको नेपालले सेमिफाइनलमा चीर प्रतिश्पर्धी युएईसँग खेल्ने छ ।

टस जितेर बलिङ रोजेको नेपालसामु ओमानले १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रनमात्र बनाउन सक्यो । 

नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए । अन्य ब्याटरले सम्मानजनक स्कोर बनाउन सकेनन् । कप्तान रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाए ।

रोमाञ्चक खेलमा नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । विवेक यादवले शुरुका तीन बलमा लगातार छक्का हानेर जितको आशा कायम राखेका थिए । तर, उनी चौथो बलमा आउट भए । क्रिजमा जमेका करण केसी पनि अन्तिम बलमा आउट भएपछि नेपालले हार टार्न सकेन ।

टिप्पणीहरू