धुलो घरमा छिरेको निहुँमा दलित महिलामाथि निर्घात कुटपिट, प्रहरीले बेवास्ता गरेको आरोप

धुलो घरमा छिरेको निहुँमा दलित महिलामाथि निर्घात कुटपिट, प्रहरीले बेवास्ता गरेको आरोप
सुन्नुहोस्

दलित समुदायमाथिको ज्यादती अहिले पनि रोकिएको छैन् । सामान्य विषयलाई पनि बढाईचढाई गरेर कथित उपल्लो जातीबाट उनीहरु कुटपिटमा पर्ने गरेको घटना बारम्बार सार्वजनिक भैरहन्छ । 

यसैबीच नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सुस्ता गाउँपालिका वडा नम्बर ४, गोकुलपुरका चमार समुदायका महिलालाई यादव समुदायले निर्घात कुटेका छन् । दलितको घरको धुँलो आफ्नो घरमा छिरेको भन्दै कुटपिट गरिएको हो । 

घटना गत कात्तिक १० गतेको हो । ती महिलाहरु आफ्नो घरमा धान बत्याउँदै थिए । सोही क्रममा यादव समुदायका नौ जनाले आएर उनीहरुलाई गालीगलौज गर्न थालेका हुन् । धानको धुँलो आफूहरुको घरमा गएको भन्दै उनीहरुले कुटपिट गरे । 

जोगिन्दर यादव, भगन यादव, राजन यादव, घनश्याम यादव, विमला यादव, गुड्डी यादव, गीता यादवले जातीय गाली गर्दै गम्भीर घाइते हुनेगरी पिटेको पीडितका भाइ सन्दिप हरिजनले बताए । ‘घरमा कुनै पुरुष थिएनन् । सोही मौका पारेर उनीहरुले तल्लो जात, पानी नचल्ने जात, तिमीहरुको हैसियत केही छैन् भनि पिटेका हुन् । हामी आउँदा दिदीहरु शिथिल अवस्थामा थिए’, उनले भने । 

घाइते हुनेमा पुनम हरिजन, शिला हरिजन र सबिता हरिजन रहेका छन् । हाल उनीहरुको रुपन्देहीस्थित भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । पीडितहरुमाथि त्यसअघि पनि कुटपिट भएको बताइएको छ । प्रहरी प्रशासनको वेवास्ताले गर्दा पटक-पटक पिटाई खानुपरेको पीडितहरुको भनाई छ । 

यता, चमार कल्याण समाजले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । समाजद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘एक गरिब समुदायमाथि अत्याचार गरिनु, घरमा कोही नभएको मौका छोपी हत्या गर्ने प्रयास गर्नु गैर मानवता, क्रुर अपराधको कार्य भएको चमार कल्याण समाजको ठहर रहेको छ । कुटपिटमा संलग्नहरुलाई प्रहरी प्रशासनले जातीय विभेद, ज्यान मार्ने उद्योग, घरमा कोही नभएको मौका छोपी यसरी कुटपिट गर्नेलाई कारबाही गर्न हामी सारा चमार समाज माग गर्दछौं ।’

तर, वडा नम्बर ४ का वडाध्यक्ष निलबहादुर गुरुङ्गले भने विवाद त्यति ठूलो नभएको बताए । सामान्य कुरामा विवाद हुँदा स्थिति हातपातसम्म पुगेको उनको भनाई छ । पीडित परिवारले मिलापत्र गर्न नमानेकाले ईलाका प्रहरी कार्यालय, बेलाटारीले मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । 

‘कुरा त्यति ठूलो होइन् । सामान्य विषयमा विवाद बढ्दै जाँदा कुटपिट भएको हो । दुवै पक्षबीच चौकीमा छलफल भएको थियो । पीडितहरुले मिलापत्र पनि गर्न मान्नुभएन्, उपचार खर्च पनि लिनुभएन् । मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ’, उनले भने । 

त्यस्तै, ईलाका प्रहरी कार्यालय, बेलाटारीले दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । प्रहरी हिरासतमा रहेका जोगिन्दर यादव र भगन यादवविरुद्ध मुद्दा दर्ताको प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ ।
 

टिप्पणीहरू