तलब नपाएपछि कर्मचारी धर्नामा, गाउँपालिकाको कामकाज ठप्प

तलब नपाएपछि कर्मचारी धर्नामा, गाउँपालिकाको कामकाज ठप्प
सुन्नुहोस्

सिरहाको विष्णुपुर गाउँपालिकाका कर्मचारी आन्दोलित भएका छन् । लामो समयदेखि तलब नपाएपछि उनीहरु गाउँपालिकाको कार्यालयअगाडि धर्ना बसेका हुन् । चाडबाडमा समेत बितेको महिनाको तलब नपाएको उनीहरुको भनाई छ । 

कर्मचारी धर्नामा बसेपछि पालिकाका सबै कामकाज ठप्प भएको छ । गत साउनदेखि तलब नपाएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामसेवक रायले बताए । उनका अनुसार स्वास्थ्य संस्थामा अति आवश्यक औषधिकोसमेत अभाव छ । 

त्यस्तै, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग तथा बालबालिकाले सामाजिक सुरक्षा भत्ता पनि नपाएको उनले जानकारी दिए । तलबभत्ता माग गर्दै स्वास्थ्य संस्थाले गत असोज ३० गते, विद्यालयहरुले कात्तिक १ गते गाउँपालिका अध्यक्ष सत्यनारायण यादवलाई ज्ञापनपत्र बुझाएका थिए । 

तर, अध्यक्ष यादवले बेवास्ता गरेपछि उनीहरुले पुनः कात्तिक १२ गते अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएका हुन् । समस्या समाधानमा चासो नदेखाएपछि धर्ना बस्नुपरेको स्वास्थ्य संयोजक रायको भनाई छ ।

‘यो दोस्रो चरणको आन्दोलन हो । पहिलो चरणमा ज्ञापनपत्र बुझाएका थियौं । गाउँपालिकासँग पटकपटक तलब माग गर्यौं तर सुनुवाई नै भएन । हाम्रो माग पूरा नभए तेस्रो चरणको आन्दोलन गर्छांैं’, उनले भने । 

हाल विद्यालयका प्रधानाध्यापक र कार्यालय प्रमुखहरु मात्र आन्दोलनमा सहभागी भएका छन् । बेलैमा माग सम्बोधन नभएमा विद्यालयसहित सबै कार्यालय बन्द गरेर तेस्रो चरणको आन्दोलनमा उत्रिने कर्मचारीहरुको चेतावनी छ । 

कर्मचारीहरुले तलबभत्ता नपाउनुको प्रमुख कारण गाउँसभा नहुनु बताइन्छ । जनप्रतिनिधिहरुबीच बजेट बाँडफाँडमा विवाद देखिएकाले हालसम्म पनि गाउँसभा हुन सकेको छैन् । यता, इन्टरनेट सेवा अवरुद्ध हुँदा राजश्व संकलन कार्य रोकिएको छ ।

टिप्पणीहरू