शान्त हुनुअघि यस्तो थियो नवराजपुरको कथाव्यथा

शान्त हुनुअघि यस्तो थियो नवराजपुरको कथाव्यथा
सुन्नुहोस्

-सन्तोष बराइली

अस्ति मगंलबार सिरहाको दक्षिणवर्ती सीमा क्षेत्रमा पर्ने नवराजपुर गाउँपालिकास्थित सोनवर्षा चोकमा लागेको हटिया (बजार) मा चहलपहल थियो । उपभोक्ताहरु निर्धक्कसँग सरसामान किनिरहेका थिए । 

हुलाकी राजमार्गका दुवै किनारमा रहेका खेतमा पहेँलपुर धानका बालाहरू लहलह झुलिरहेका थिए । राजमार्गबाट धान खेतका आलीमा घाँस काटिरहेका महिलाहरु देखिन्थे । भैंसी चढेर चराईरहेका पाकाहरू, बाख्रा चराईरहेका किशोर–किशोरी र अस्ताउने सुरसारमा रहेको पहेँलो घामको दृष्यले जोकोहीलाई रोमाञ्चित बनाउँथ्यो ।

सडक छेउका चिया पसलमा चियाको चुस्की लिइरहेको झुण्ड, पान पसलमा उभिएर बडो ठाँटका साथ पान चपाएर गफिरहेका र हाटबजारमा किनमेलमा मस्त ग्रामीण जीवनहरू । आहा !  शान्त, शीतल वातावरणमा रमाइरहेका ग्रामीण जनजीवनको मुस्कानसहितका अनुहारहरू यतिबेला हेर्न लायक छन्, सीमा क्षेत्रमा ।

तर, सोही क्षेत्र केही दिनअघिसम्म तनावग्रस्त थियो । भगवानपुरको भोजमा दलितलाई विभेद गरिएको घटना, नवराजपुरको पोखरी विवाद काण्ड, बरियारपटी गाउँपालिकामा पर्ने बडहरीको चुनावलगत्तैको हत्याकाण्डले सो क्षेत्र निकै आतंकित भएको थियो ।

पोखरी विवादः असन्तुष्ट पक्षले बुझायो ज्ञापनपत्र

पोखरी विवादले सिङ्गो नवराजपुर गाउँपालिका त्रासमय बनेको थियो । ७१ ओटा सार्वजनिक पोखरीमा गाउँपालिकाले ठेक्का लगाउन खोजेपछि निम्तिएको विवादले ठूलै रुप लियो । दर्जन बढी घाइते भए । जुनसुकै बेला हिंसामा परिणत हुनसक्ने भय उत्पन्न भएपछि प्रहरी प्रशासन ‘अलर्ट’ बनेको थियो ।

असन्तुष्ट पक्षले पोखरी संघर्ष समिति गठन गरेर भित्रभित्रै प्रतिवाद गर्ने तयारी गर्यो । वडा नम्बर ३ का शिवराम यादवको अध्यक्षतामा गठित समितिले पोखरीधनीसँग जनही १० हजार रूपैयाँको दरले रकम संकलन गरेपछि विवाद सिर्जना हुने अनुमान लगाइएको थियो ।

गाउँपालिकाभित्रका ७६ मध्ये मालपोत कार्यालयले ७१ ओटा पोखरीको हैसियत सार्वजनिक रहेको प्रमाणित गरेपछि गाउँपालिकाले उक्त पोखरी ठेक्कामा लगाउने निर्णय गरेको थियो । जसका कारण दुई पक्षबीच भिडन्त भयो । भिडन्तमा परेर दुवै पक्षका घाइते भएका छन् भने एक आक्रमणकारीविरूद्व प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको छ । 

पहिलोपटक भएको भिडन्तपछि निम्तिएको विवाद सिरहाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेकुनन्द ईवा लिम्बुको पहलमा सामसुम भएपनि पछिल्लो पटकको भिडन्तपछि उत्पन्न विवाद टुङ्गिने छाँटकाँट देखिँदैन । पहिलो पटकको विवाद पाँच बुँदे सहमतिपश्चात टुङ्गिएको थियो । 

गाउँपालिकाले पोखरीमा माछा मार्न खोज्दा असन्तुष्ट पक्षले आक्रमण प्रयास गरेपछि पुनः विवाद भयो । त्यतिबेलाको आक्रमण रोक्न सुरक्षा निकायले अश्रुग्याँस फायर गर्नुपरेको थियो भने आक्रमणबाट माछा मार्ने मल्लाहहरू घाइते बने । 

 

भिडन्तमा गाउँपालिकाका आईटी शाखामा कार्यरत कर्मचारी धर्मनाथ मण्डलको दाहिने हातको औँला भाँचियो भने ट्रयाक्टर चालकहरू रामसागर राम, जनक यादव र सञ्जिव यादव घाइते भए । 

कतिपयले उक्त घटना वर्तमान गाउँपालिका अध्यक्ष शिवउदगार यादव र निवर्तमान गाउँपालिका अध्यक्ष विश्वमोहन यादवको राजनीतिक लडाईंका कारण भएको अड्कलबाजी गरेका थिए । हाल उक्त विवाद पनि साम्य भएको छ । 

असन्तुष्ट पक्षले विभिन्न माग राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहलाई ज्ञापनपत्र बुझाएको छ । साहले भने,‘पोखरी विवाद मिल्ने सुरसारमा छ, हाललाई नवराजपुर शान्त बनेको छ । यो नै ठूलो कुरा हो ।’

भगवानपुरको भोज विवादः मुल्तवीमा छैन मुद्दा                            

सिरहा तताएको एउटा अर्काे घटना अझै ताजै छ : भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको मृतक आमाको १३ औँ दिनको पुण्यतिथिको शुद्धी भोज । भोजमा दलितमाथि विभेद गरिएको भन्दै विवादले उग्र रुप लिएको थियो । उक्त विवादले सिरहा आउन लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भ्रमणसमेत रद्द भएको थियो । 

एमाले सिराहाका सचिवसमेत रहेका गाउँपालिका अध्यक्ष यादवले भने, ‘भोज विवादले गर्ने भनिएको धार्मिक महोत्सव प्रभावित भयो । त्यसैले अध्यक्ष ओली आउने कार्यक्रम पनि रद्द गरिएको थियो ।’

यस्तो थियो भोजको विवाद 

गाउँपालिकामा दलित समुदायको जनघनत्व ४० प्रतिशत छ । सदा, राम, पासवान, खत्वे, डोम जातिका दलित समुदायको जनघनत्व बढी रहेको गाउँपालिका सदरमुकामबाट ३० किलोमीटर पूर्वमा पर्छ । सिरहाको प्रमुख व्यापारिक नाका लहानबाट १३ किलोमीटर दक्षिणमा रहेको गाउँपालिका भारतको लौकाहा बजारसँग जोडिएको छ । 

अध्यक्ष यादवकी मृतक आमाको १३ औँ दिनको पुण्यतिथिको शुद्धी भोजमा सिराहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेकुनन्द ईवा लिम्बू, तत्कालीन सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रमोद भारतीदेखि पूर्वमन्त्री तथा सांसद लिला श्रेष्ठ, पूर्व एमाले सांसद रामरति राम,  प्रदेश सांसदहरू, विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति थियो । 

भोजमा दलित समुदायलाई उपेक्षा गरेको विवाद उत्पन्न भएपछि केहीले सडक प्रदर्शन गरे । मुद्दा चलेपछि अहिले तारेख र बयानको क्रम जारी छ ।

बडहरी : रामशंकर हत्याकाण्ड

भगवानपुरको भोज र नवराजपुरको पोखरी विवादलाई माथ खुवाउने प्रकरण थियो बरियारपटी गाउँपालिका वडा नम्बर १, बडहरीको रहस्यमय हत्या प्रकरण । संघ र प्रदेशको चुनावको मतगणना सकिनासाथ घटेको यो हत्या प्रकरणमा राजनीतिक रंग पोतिएपछि घटनाक्रमले नयाँ मोड लिएको थियो ।  

मध्यरातको मौका छोपी ३२ वर्षीय रामशकंर यादवको हत्या भएको थियो । सर्वत्र चासोको विषय बन्यो । हत्या, अपहरण, फिरौती, लागुऔषध कारोबारलगायतका अपराधिक घटनाले सँधै चर्चामा रहने सिरहामा यो घटनापछि प्रहरीले हरेक नागरिकलाई शंकाको घेरामा राखेर अनुसन्धान अघि बढाएको थियो । 
    
सिरहा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादवले जिते, नेपाली कांग्रेसकी चित्रलेखा यादव हारिन् । जबकी यो क्षेत्र कांग्रेस नेतृ यादवको गढ मानिन्थ्यो । 

पूर्व उपसभामुख तथा पूर्वशिक्षामन्त्री समेत रहेकी यादवले यसअघि यही क्षेत्रबाट चुनाव जितेर प्रतिनिधि सभाको यात्रा तय गरेकी थिइन् । तर, पछिल्लो पटक उनले आफ्नो राजनीतिक थलोमा हार व्यहोरिन् । स्थानीय तहको चुनावमा उनका भाइ विश्वमोहन यादव पनि पराजित भएका थिए । उनी नवराजपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार थिए । 

कांग्रेसका उम्मेदवार विश्वमोहनलाई जसपाका शिवउदगार यादवले हराएका थिए । यी दुई राजनीतिक खेलाडीका कारण रामशंकरको ज्यान गएको बताइन्छ । उनी कांग्रेसका सक्रिय कार्यकर्ता थिए । 

चित्रलेखालाई जिताउन उनले स्थानीय तवरबाट निकै प्रयास गरेका थिए । हत्या आरोपी दिपेन्द्रकुमार यादव र अजयकुमार साह पक्षधर घटनालाई मोटरसाइकल दुर्घटना भनिरहेका छन् । यता, मृतक पक्षले सुनियोजित हत्याको दाबी गरेको छ । 

‘उनीहरुले मृतक रामशंकरसँगै बसेर राति अबेरसम्म मदिरा–खाजा खाए । पसल बन्द गरेर मोटरसाइकलबाट नर्गिस्थित घर फर्किँदै गर्दा अजय सवार मोटरसाइकलले विपरीत दिशाबाट मोटरसाइकलमा सवार रामशकंरलाई ठक्कर दियो, उनको टाउकोको पछाडीको भाग ढुङ्गामा बजारिएपछि रामशकंरको तत्काल दुर्घटनास्थलमा मृत्यु भयो’, दिपेन्द्र र अर्जुन पक्षधरको भनाई हो यो । 

तर, रामशंकरका परिवार यो कुरा मान्न तयार छैन् । उनीहरु भन्छन्,‘दिपेन्द्रका भाइ डम्बरले साँझपख रामशंकरलाई फोन गरेर मदिरा पसलमा खाजा खान बोलाउनु, सँगै बसेर मदिरा सेवन गर्नु, भोटको विषयमा राति अबेरसम्म भनाभन चल्नु, दिपेन्द्रको नयाँ बन्दै गरेको घरको छेउमा घटना घटनु, घरको आँगनमा रगत लत्पतिनु, कोठाभित्र रगताम्य गलबन्दी भेटिनुले यो सुनियोजित हत्या हो ।’

के भएको थियो होटलमा ? 

प्रत्यक्षदर्शीका अनुसार हत्यामा संलग्न भनिएका दिपेन्द्र र अजयले नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने बडहरीस्थित अजय मदिरा पसल एण्ड होटलमा मदिरा सेवन गरेका थिए । उनीहरु मदिराको नसामा मस्त थिए । 

मंसिर १६ गते स्थलगत रिपोर्टिङ्गका क्रममा घटनास्थल पुगेका सञ्चारकर्मीहरूलाई प्रत्यक्षदर्शीले भने, ‘राति ११ बजेसम्म उनीहरूले मदिरासँगै रोष्ट खाए । नाम नखुलेको पाँच क्वार्टर मदिरा खाने क्रममा उनीहरुबीच मतपरिणामको विषयलाई लिएर विवाद भएको थियो । त्यसपछि के भयो थाहा भएन ।’ 

दिपेन्द्र र अजय जसपा समर्थक हुन् । उनीहरुले चित्रलेखा हारेको भन्दै रामशंकरलाई जिस्काउने गरेका थिए । रामशंकरले भने टुरिष्ट नेता राजकिशोरलाई जिताएकोमा विरोध जनाउने गर्दथें । 

हत्याका आरोपीहरु अहिले थुनामा छन् । सँधै छिटपुट व्यापारिक घटनाले आक्रान्त बनिरहने दक्षिण सीमावर्ती क्षेत्र अहिले साँच्नै नै शान्त छ । दीपावली र छठको तयारीमा लागेका सीमावासीको अनुहारमा यतिबेला चमक देख्न सकिन्छ ।

टिप्पणीहरू