सत्ता छोड्नुपरेको पीडा संसद अवरोध गरेर पोख्न पाईंदैन : माधव नेपाल

सत्ता छोड्नुपरेको पीडा संसद अवरोध गरेर पोख्न पाईंदैन : माधव नेपाल
सुन्नुहोस्

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा प्रमुख प्रतिपक्ष दलको भूमिका सकारात्मक नभएको बताउनुभएको छ । 

संसद अधिवेशन अन्त्यअघि आज बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले एमालेले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताउनुभएको हो । एमालेको नाम नलिई अध्यक्ष नेपालले भन्नुभयो, ‘सरकारले गरेको राम्रा कामलाई राम्रो भन्न सक्नुपर्छ । त्यसैलाई रचनात्मक विपक्ष भनिन्छ ।’

सत्ताबाट हट्नुपरेको पीडाले सदन अवरोध गरेर सरकारलाई असहयोग गर्दा जनतामा नराम्रो असर पर्ने उहाँको भनाई छ । ‘पीडा पोखेर, धारे हात लगाएर सदन अवरोध गरेर मात्रै हुँदैन, हामीले जनताको आवाजलाई प्रष्फुटित गर्नको लागि तीनवटै मोर्चामा लाग्नुपर्छ’, नेपालले भन्नुभयो ।

संसद् अधिवेशनको अन्तिम दिन प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड बैठकमा उपस्थित नभएकोमा पनि उहाँले असन्तुष्टी व्यक्त गर्नुभयो । सरकारलाई थप प्रभावकारी तुल्याएर जनताको आकांक्षा पूरा गर्न के गर्न सकिन्छ भनेर समीक्षा गर्नुपर्ने आवश्यकतामा अध्यक्ष नेपालले जोड दिनुभयो ।

टिप्पणीहरू