विशेषको फैसलाविरुद्ध अख्तियारले नै सर्वोच्चको ढोका ढकढकाउन परेपछि...

विशेषको फैसलाविरुद्ध अख्तियारले नै सर्वोच्चको ढोका ढकढकाउन परेपछि...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतका फैसलाउपर सर्वोच्च अदालतमा आज पनि पुनरावेदन गरेको छ । 

विशेष अदालतबाट विभिन्न मितिमा भएका फैसलामध्ये एउटामा चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको जनाइएको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेर भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा भएको फैसलाउपर चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको हो । 

सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडानम्बर ४ का तत्कालिन वडासचिवहरु मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

विशेष अदालतले गत चैत्र ३० गते उनीहरुविरुद्ध लगाइएको आरोपमा दाबी नपुग्ने फैसला सुनाएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै अख्तियार आज सर्वोच्चको ढोका ढकढकाउन पुगेको हो ।

यसअघि पनि आयोगले विशेष अदालतका धेरै वटा आदेशमा चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

टिप्पणीहरू