अदालतको आदेशपछि भारतीले माइतीघरमा जुस पिईन्

अदालतको आदेशपछि भारतीले माइतीघरमा जुस पिईन्

पति चेतन मानन्धरका हत्यारा योगराज ढकाल रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै भारती शेर्पाले अनशन तोडेकी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले रिगाललाई माफ दिने निर्णय गरेपछि माइतीघरमा अनशन बस्दै आएकी भारतीले आज अपराह्न जुस पिएर अनसन अन्त्य गरेकी हुन् । त्यसअघि दिउँसो सर्वोच्च अदालतले आममाफी दिने राष्ट्रपतिको निर्णय उत्प्रेष्णको आदेशले बदर गर्दै रिगललाई कारागार पठाउन परमादेश जारी गरेको थियो । 

रिगलले २०७२ असार २८ गते नेपालगञ्जका चेतनलाई खुँडा प्रहार गरी हत्या गरेको ठहर गर्दै तीनै तहका अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर, संविधान दिवसको अवसरमा राष्ट्रपतिले उनलाई आममाफी दिएपछि सर्वोच्चमा रिट हालेकी भारती सडक संघर्षमा पनि थिइन् । 

भोलि दिउँसो १ बजे रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्ने पनि उनको तयारी छ ।

टिप्पणीहरू