काठमाडौंमा सीप सिकाउन चाहनेहरु सूचीकृत हुनैपर्ने

काठमाडौंमा सीप सिकाउन चाहनेहरु सूचीकृत हुनैपर्ने

काठमाडौं महानगरपालिकाले ‘पुस्तकविहीन शुक्रबार, शिक्षामा सीप कार्यक्रम’ मा प्रशिक्षण दिन चाहने संघसंस्था तथा व्यक्तिलाई विद्यालयमा सूचीकृत हुन आह्वान गरेको छ । महानगरपालिकाले कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सीप सिकाउन चाहने संघसंस्था तथा व्यक्तिलाई सूचीकृत हुन आग्रह गरेको छ । 

चालु शैक्षिक सत्रदेखि महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा पुस्तकविहीन शुक्रबार कार्यक्रम सञ्चालन गरेको छ । पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गर्न महानगरपालिकाले यो कार्यक्रम थालेको हो । 

९० घण्टाको तालिमको निम्ति १० वटा विषय समावेश छ । कृषि तथा शहरी खेती, सौन्दर्य र हेयर स्टायल, काष्ठकला तथा नक्कासी, पाककला, फेसन डिजाइन र कपडा निर्माण, वायरिङ्ग एण्ड इलेक्ट्रिकललगायत विषय राखिएको छ ।

यी विषयमा तालिम कक्षा सञ्चालन गर्न सक्ने संस्था वा व्यक्ति सूचीकृत हुन सक्छन् । सेवा प्रदायक संस्थाको अनुभव, जनशक्तिको योग्यता, प्रशिक्षकको प्रशिक्षण तालिम, प्रविधि हस्तान्तरणसम्बन्धी प्रतिबद्धता, आर्थिक तथा प्राविधिक क्षमतालगायतका विषयलाई मूल्याङ्कन गरेर प्रशिक्षक छनौट गरिने महानगरपालिकाले स्पष्ट पारेको छ । 

महानगरपालिकाभित्र रहेका ८९ मध्ये ५७ विद्यालयमा यो कार्यक्रम सञ्चालनमा छ ।

टिप्पणीहरू