नेपाली कागजमा ल्याप्चे लगाएर तारा बरालद्वारा बिहे गर्ने सहमति

नेपाली कागजमा ल्याप्चे लगाएर तारा बरालद्वारा बिहे गर्ने सहमति
सुन्नुहोस्

स्वःघोषित सामाजिक अभियन्ता तारा बरालले उनीसँग नाम जोडिएका रणबहादुर चन्दसँग लगनगाँठो कस्ने भएकी छन् । आज दुबैले छिट्टै बिबाह गर्ने सहमतिको कागजमा ल्याप्चे लगाएका छन् ।

तीनजनालाई साक्षी किनारामा राखेर उनीहरुले गरेको सहमतिको कागजमा पछिल्लो समय आफूहरुलाई जोडेर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएपछि विवाह गर्ने निर्णयमा पुगेको बताइएको छ । छिट्टै आवश्यक कागजातको तयारीपछि विवाह गर्ने उनीहरुको सहमति छ । 

‘लिखितम कागज गरिदिनेको नाम लोकबहादुर चन्दका नाती खडक बहादुर चन्दका छोरा काठमाडौँ जिल्ला वडा नम्बर ५ टंगाल बस्ने वर्ष ५९ को रणबहादुर चन्द आगे ऋषिराम बरालकी नातिनी, बुद्धिप्रसाद बरालकी छोरी चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १२ मालपोत चोक घर भई हाल काठमाडौँ बानेश्वर बस्ने वर्ष ४२ कि तारा बरालसँग विवाह गर्ने सहमति गरियो’, दुबैले ल्याप्चेसहित दस्तखत गरेको कागजमा लेखिएको छ । 

दुबैले आफूहरु विवाहित भए पनि हाल एकल रहेको जनाएका छन् । कागजमा उल्लेख भएअनुसार रणबहादुरको २०४१ सालमा शारदा चन्दसँग विवाह भएकोमा २०६२ को दुर्घटनामा उनको निधन भएपछि उनी एकल छन् । त्यस्तै, बरालसँग २०५६ मा बिहे गरेका गणेश गौतमको २०७६ मा दुर्घटनामा मृत्यु भएको हो ।

चन्द नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हुन् ।

टिप्पणीहरू