माओवादीमा सैद्धान्तिक चिन्तन कमजोर हुँदा व्यवस्था विरोधीले फाइदा उठाए : प्रधानमन्त्री प्रचण्ड

माओवादीमा सैद्धान्तिक चिन्तन कमजोर हुँदा व्यवस्था विरोधीले फाइदा उठाए : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताउँँदै उक्त षड्यन्त्र सफल हुन नदिने उद्धघोश गर्नुभएको छ ।

आज बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्नेसमेत प्रष्ट पार्नुभयो । 'परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ । त्यसमा सबैखाले प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ । तर, हामी परिवर्तनको रक्षाका निम्ति १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर जवाफ दिनेछौं', प्रधानमन्त्रीले कार्यकर्तामाझ भन्नुभयो । 

त्यसक्रममा प्रधानमन्त्रीले पार्टीमा अध्ययन, अनुसन्धान र नयाँ विषय खोजी गर्ने कुरा कमजोर हुँदै गएको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । त्यसको फाइदा व्यवस्था विरोधीहरुले उठाउन खोजिरहेको बताउँदै प्रधानमन्त्री प्रचन्डले नयाँ विचारको विकास गर्नुपर्नेमा जोड पनि दिनुभयो । 

'हिजो अध्ययन, अनुसन्धान र नयाँ विषयको खोजीमा हामी सबैको रूचि थिय‍ो, त्यसले हामीलाई बाटो देखाउँथ्यो, बदलिएको परिस्थितिअनुसार अगाडि बढ्न उत्प्रेरित पनगर्थ्यो । तर आजभोलि दार्शनिक सैद्धान्तिक चिन्तन कमजोर हुँदै गएको छ । विचारको पक्षमा चिन्तन, मनन कमजोर भएको छ', उहाँले भन्नुभयो, 'त्यसको प्रत्यक्ष फाइदा व्यवस्थाविरोधीहरूले उठाउन ख‍ोज्दैछन् । तसर्थ, विकसित परिस्थितिअनुरूप नयाँ विचारको विकासमा हामीले जोड दिनुपर्छ ।'

प्रधानमन्त्रीले पार्टी विभाजित हुँदा आफूहरु कमजोर भएको र प्रतिक्रान्तिकारीहरूको मनोबल उठ्न थालेको उल्लेख गर्दै त्यसलाई चिर्न रूपान्तरणका साथ अगाडि बढ्नुको बिकल्प नरहेको प्रष्ट पार्नुभयो । नेताहरूबाटै रुपान्तरण हुनुपर्ने भन्दै उहाँले अरूलाई उपदेश दिएर अब अघि बढ्न नसकिने बताउनुभयो । 
 
'गणतन्त्र, संघीयताको रक्षा हामीले मात्रै गर्न सक्छौं, अरूलाई खास चासो पनि छैन, उनीहरूको एजेन्डा पनि होइन । माओवादी कमजाेर भए संविधान मात्रै विघटन हुँदैन, देश नै विघटनको खतरा रहन्छ । पछिल्लोसमय धरान, नेपालगञ्ज, सर्लाहीलगायतका स्थानमा जे प्रयत्न गरियो, त्यो सामान्य छैन । गणतन्त्र नै उल्टाएपछि संघीयता पनि रहँदैन, त्यसपछि देश नै टुक्राउन सकिन्छ भन्ने गम्भीर षड्यन्त्र छ । यो कुरा हामीले जनतालाई बुझाउनुपर्छ', प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

परिवर्तन पक्षधर सबै राजनीतिक शक्ति एक ठाउँ उभिएर प्रतिगामी षड्यन्त्र परास्त गर्ने दावी गर्दै उहाँले दलहरूबीच यसबारे छलफल चलिरहेको कार्यकर्तालाई जानकारी पनि गराउनुभयो । केही दिनमा बैठक बसेर ठोस समीक्षासहित अगाडि बढ्ने उहाँले सुनाउनुभयो । 

'कम्युनिस्टहरूले बाँचुञ्जेल परीक्षा दिनुपर्छ । म पनि परीक्षामा छु, तपाईहरू पनि परीक्षामा हुनुहुन्छ । यसपटक सरकारले निकै विवेक र दृढताका साथ कदम चालेको छ । भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार, भूमाफियाहरूलाई कार्वाही, कुटनीतिक सन्तुलन लगायतका जति काम गरिएको छ, तिनीहरूको रणनीतिक महत्त्व छ', प्रधानमन्त्री प्रचण्डले अगाडि भन्नुभयो, अहिले नै उत्पात, चमत्कार गर्न सकिँदैनथ्यो । हामी गठबन्धनमा छौं, त्यसका सीमा र जटिलताहरू पनि छन् ।'

टिप्पणीहरू