रक्षामन्त्रीलाई जब सुर्खेतमै रोकियो

रक्षामन्त्रीलाई जब सुर्खेतमै रोकियो
सुन्नुहोस्

लोकप्रियतावादले गाँजेको समाजमा लासमाथि पनि राजनीति हुन्छ भनिन्छ । नेपालमा अहिले वैकल्पिक राजनीतिका नाममा लोकप्रियतावाद चरमोत्कर्षमा छ ।

भूकम्पपछि राहत र उद्धारका नाममा आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न कस्तोसम्म होडबाजी चल्दोरहेछ भन्ने कुरा कर्णालीमा प्रकट भएका केही पात्र र प्रवृत्तिले छर्लंग पारेको छ । 

भूकम्प गइसक्यो, नहुनुपर्ने धनजनको क्षति भइसक्यो । अब त्यसलाई रोक्न सकिँदैन । तर, भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्ने उपायबारे नागरिकलाई सचेत गराउँदै भौतिक संरचना निर्माणको अवसरका रूपमा लिएर पुनर्निर्माणमा लाग्नुपर्ने बेला हो यो । राजनीतिक नेतृत्व भने सस्ता प्रचारबाजीमा रमाएर जस लिने होडबाजीमा छ । पुराना राजनीतिक पार्टीको कुरा छोडौँ आफूलाई वैकल्पिक शक्ति दावी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु यस्ता गतिविधिमा झन् अगाडि देखिएका छन् । त्यसमध्येकी हुन् ललितपुर–३ की सांसद डा. तोसिमा कार्की । 

१७ गते मध्यराति भूकम्प गयो । १८ गते काठमाडौँबाट जहाजमा नेपालगञ्ज पुगेकी सांसद कार्कीसहितको टोली त्यहाँ ओर्लेर सैनिक हेलिकोप्टरमा सुर्खेत पुग्यो । सुर्खेतमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का राहत सामग्रीसहित जाजरकोट जान हेलिकप्टर कुरेर बसेका थिए । तर, तोसिमाले राहतभन्दा पहिले चिकित्सक पुग्नुपर्ने भएकाले आफू सैनिक जहाजमा जाजरकोट जान पाउनुपर्ने ढिपी कसिन् । जबकि भूकम्प गएको ३० मीनेटमा सेनाले अंकिता राई र मुकुन्द पुडासैनीको नेतृत्वमा फौज खटाएर १७ गते राति नै उद्धारको काम लगभग सकिसकेको थियो भने घाइतेको उपचार पनि भइरहेको थियो । सेना, प्रहरी र सशस्त्रका चिकित्सक उपचारमा खटिएका थिए । 

तर, कार्कीले आफूसहित काठमाडौँबाट गएको डाक्टरहरुको टोली जाजरकोट जान पाउनुपर्ने अडान लिइरहिन् । त्यसैलाई इस्यु बनाएर सरकारले रोकेको प्रचार गर्ने उनीहरुको तयारी बुझेपछि रक्षामन्त्री खड्का सुर्खेतमै बसेर कार्कीको टोलीलाई ठाउँ दिए । सांसद कार्कीको टोलीले आफैँ उपचारमा खटिने जसरी राहतभन्दा पहिले चिकित्सक जानुपर्ने अड्डी लिइरहँदा उनीभन्दा पोख्त डाक्टरहरु स्वास्थ्य उपकरणसहित प्रभावित क्षेत्रमै थिए । सेना र प्रहरीका डाक्टरहरु प्रारम्भिक उपचार गरीवरी अस्पतालमा पु¥याएर सुर्खेत फर्किँदै थिए । रेस्क्युमा गएकाहरूले घर खोतलेर अब बाँकी छैन भन्ने भएपछि सामान्य बिरामीलाई सामुदायिक उपचार केन्द्रमा र गम्भीर घाइतेलाई नेपालगञ्ज, सुर्खेत र काठमाडौँ पठाइसकेका थिए । 

अहिले त प्रहरीका डाक्टरहरु काठमाडौँ आइसकेका छन् भने सेनाले जाजरकोट र रुकुम–पश्चिमबाट फर्काएर २० जनालाई सुर्खेतमा तयारी अवस्थामा राखेको छ । सात वटा जहाज पनि सुर्खेतमा तयारी हालतमा छन् । दुई लाखको राहत सामग्रीका लागि प्रतिफ्लाइट ६ लाख खर्च गरेर सेनाले राहत तथा उद्धारको काम गरिरहेको छ । सेनाले जाजरकोटमा ३० वटा अस्थायी टहरा बनाएको छ । पुनःस्थापनाका लागि भौगोलिक अवस्थाको अध्ययन पनि सेनाको विज्ञ टोलीले नै गर्दै छ । 

‘काम गर्ने कालु मकै खाने भालु’ भनेझैँ जस लिन होडबाजी गर्ने राजनीतिक पार्टीले कार्यकर्ता परिचालनसमेत गरेका छैनन् यसपटक । प्राकृतिक विपत्तिका बेला विगतमा राजनीतिक कार्यकर्ता परिचालन हुन्थे । केही पत्रकार र सेलिब्रिटी भने नेपालगञ्जमै फोटो खिचाउनमा मस्त छन् । माओवादीको आधार क्षेत्र भएकाले त्यस पार्टीका नेताको केही चहलपहल देखिन्छ भने लोकप्रियतावादले उदाएको रास्वपाका नेताहरु पनि दौडादौडमा छन् । 

टिप्पणीहरू