कहीं नभएको जात्रा गोपीकृष्ण छेउमा

कहीं नभएको जात्रा गोपीकृष्ण छेउमा

कमरेडबाट रातारात जय नेपाल बनेर दुई वर्षे कार्यकालका लागि ०७९ साउनमा चलचित्र विकास बोर्डमा पुगेका भुवन केसी फेरि अर्काे लफडामा मुछिएका छन् । नियामक निकायमा बसेर आफैँले सिनेमा निर्माणको तयारी थालेसँगै उनको अर्काे निर्णय विवादमा परेको हो । झण्डै ७५ लाख खर्चेर विकास बोर्ड आफैँ सिनेमा निर्माणको तयारीमा लागको छ । 

यसनिम्ति सरकारबाट ७५ लाख रूपैयाँ बजेटसमेत प्राप्त भइसकेको जनाइएको छ । नेपाली कला, संस्कृति, संस्कार, परम्परा तथा इतिहास झल्काउने सिनेमा निर्माणका लागि अहिले धमाधम कार्यविधि बन्दै छ । विकास बोर्डले भने आयल निगमले आफैँ पेट्रोल पम्प चलाउन हुने, बोर्डले फिल्म बनाउन किन नहुने भन्ने तर्क पेश गरेको छ । गोपीकृष्णनगरस्थित चलचित्र विकास बोर्डमा केसीका १५ महिना बितिसकेका छन् ।

राज्यकोष तन्नम भएर सरकारी खर्च २० प्रतिशत कटौती गर्ने निर्णय भइरहँदा बोर्डले ३० लाख खर्चेर आयोजना गरिरहेको कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी विवादित निजी कम्पनी सूर्य कर्पोरेशनलाई दिइएको थियो । बाबु आयोजक, छोरालाई अतिथि, ठगीमा मुछिएको र अनुसन्धान चलिरहेको कम्पनीलाई ३० लाखको ठेक्का र पत्नीलाई पनि आयोजककै खर्चमा दुबई यात्रा ।

फिल्मको कथा सारांश स्वीकृत गरेर विकास बोर्ड आफँैले निर्माण गर्न अनुमति दिएको एक भागवत गीता फिल्मलाई प्रदर्शनको मुखैमा आएर अवरोध गरेपछि फिल्मकर्मीकै शब्दमा भुवनले कालो इतिहास बनाएका थिए । यस्तै बदमासीहरूका कारण विकास बोर्डको २३ औं बार्षिकोत्सव कार्यक्रमसमेत अधिकांश सिनेकर्मीहरूले बहिष्कार गरेको इतिहास छ ।

कमरेडबाट काँग्रेस बनाएर विकास बोर्डको कुर्सीमा पु¥याउने निर शाहसमेत केसीका पछिल्ला गतिविधिबाट सन्तुष्ट छैनन् भनिन्छ । निर्माता संघको बार्षिकोत्सबमा शाहले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको कुर्सी खोसिदिने चेतावनी नै दिएका थिए ।
 

टिप्पणीहरू