उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि थुनामा नै रहने भन्नेबारे अन्तिम आदेश सुनाउँदै केहीलाई साधारण तारिख र धरौटी तथा अरुलाई जेलको बास यथावत तोकेको छ ।
उक्त प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतलाई थुनामुक्त गराउनुपर्ने मागसहित हालिएको रिटमा आदेश गर्दै न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले शरणार्थी नेता टेकनाथ रिजाल र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश दिएको छ । सन्दीपलाई ३० लाख धरौटी र टेकनाथको हकमा १५ हजार धरौटी माग गरिएको छ ।

जनक पाण्डेले ३० लाख धरौटीमा पूर्व उपप्रधान तथा गृहमन्त्री बालकृष्ण खाँणलाई छाड्नुपर्ने राय दिए पनि अर्का न्यायाधीश खरेलले राय बझाउँदै नमानेका हुन् । टोपबहादुरलगायत टेकनारायण पाण्डे,डा. इन्द्रजित राई,केशव दुलाल,सानु भण्डारी, सागर राई,गोविन्दकुमार चौधरी,सन्देश शर्मा, र आङटावा शेर्पा लगायत नौ जनालाई जिल्ला अदालत काठमाडौंको आदेश सदर गर्दै थुनामा राख्नु मनासिब ठहर्याइएको छ ।

अन्यमा रामशरण केसी १५ लाख,केशव तुलाधर सामान्य तारेख, टेककुमार गुरुङ साधारण तारेख,समशेर मियाँको हकमा १० लाख,आशिष बुढाथोकीलाई साधारण तारेखको आदेश भएको छ ।